• १६ असोज २०८३, शुक्रबार
  • १ः११ दिउँसो

जेनजी प्रदर्शनमा अर्थ मन्त्रालयका ४४ गाडी जले, बजेट महाशाखाको टहरा पूर्णरूपमा नष्ट

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०५:३२

भदौ २९ ,२०८२ काठमाडौं – भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएका छन्। तीमध्ये अर्थमन्त्री चढ्ने दुईसहित १६ गाडी पूर्ण रूपमा जलेका छन् भने ३३ वटा गाडीमा आंशिक क्षति पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

National Life

मन्त्रालय भवनमा क्षति नभए पनि बजेट महाशाखा रहेको टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ। सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार टहरामा रहेका १२ वटा कोठा, एउटा हल र सम्पूर्ण जिन्सी सामग्री जलेका छन्। “अर्थको बजेट महाशाखा भएको टहरा जलेको छ। त्यसमा रहेका सबै फाइल नष्ट भएका छन्,” उनले भने।

यस्तै, मन्त्रालय परिसरमा रहेका ३६ मोटरसाइकल र १८ स्कुटर पनि जलेका छन्। देशभरका कर प्रशासनमा समेत ठूलो क्षति पुगेको छ। दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा आन्तरिक राजस्व कार्यालय पूर्ण रूपमा जलेका छन्। कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीमा भने आंशिक क्षति पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति पुगेको पाण्डेयले जानकारी दिए। उनका अनुसार यी कार्यालयहरूबाट सेवा भने सुरु भइसकेको छ।

जेनजी आन्दोलनका क्रममा संसद् भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय पूर्ण रूपमा जलेका छन्। अन्य मन्त्रालयका पार्किङ क्षेत्रमा रहेका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् भने कतिपय मन्त्रालय भवनमा पनि आंशिक क्षति पुगेको छ।

प्रतिकृया