खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि भदौ ३१ सम्म थप
प्रकाशित मिति
२०८२ भाद्र २३ गते, सोमबार १०:२८
भदौ २३,२०८२ काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । अब भदौ ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता (१०० प्रतिशत) को दरले हकप्रद शेयर निष्कासन गरेको हो । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरेको छ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुन्छ ।
यसअघि कम्पनीले भदौ २३ गतेसम्म आवेदन दिने समय तोकेको थियो । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको हो, जसअनुसार असार २६ गतेसम्म कायम रहेका सेयरधनी मात्र यसमा सहभागी हुन पाउनेछन् ।
हकप्रद निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी (ICRANP B) इस्यूअर रेटिङ दिएको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस हकप्रदको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । साथै, लगानीकर्ताले कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखामार्फत तथा सी-आश्वा सदस्य बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ । संकलित रकम ऋण घटाउन, वित्तीय स्थिति सुधार गर्न, ब्याज खर्च कम गर्न तथा इक्विटी बढाउन प्रयोग गरिने कम्पनीले जनाएको छ ।







प्रतिकृया