नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि, कारोबार रकममा पनि दोब्बर वृद्धि
प्रकाशित मिति
२०८२ भाद्र ११ गते, बुधबार ०३:३७
भदौ ११,२०८२ काठमाडौं – बुधबार नेपाल शेयर बजारमा नेप्से परिसूचकमा ५३.०१ अंकको उल्लेखनीय वृद्धि भएको छ। सो वृद्धिपछि नेप्से परिसूचक २८१९ मा पुगेको छ।
कारोबारको सुरुवाती समयमा सूचक सवा ११ बजेसम्म घटेर २७६८ मा झरेको भए पनि त्यसपछि निरन्तर वृद्धिको क्रम जारी रह्यो। बजारमा देखिएको यो सुधारसँगै कारोबार रकम पनि उल्लेखनीय रुपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ।
२३२ कम्पनीको मूल्य वृद्धि भएको छ भने १९ कम्पनीको मूल्य घटेको छ। सबै समूहका सूचकहरू सकारात्मक देखिएका छन्। यसबीच विकास बैंक समूह सबैभन्दा बढी ३.४० प्रतिशतले वृद्धि भएको छ। बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार लगायत सबै समूहले दोहोरो अंकमा वृद्धि देखाएका छन्।
विशेषगरी विकास हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ। त्यस्तै समता घरेलु लघुवित्त ९.३६%, ग्रिन भेन्चर्स ८.०८%, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ७.६०%, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ७.२८%, नेपाल माइक्रो इन्स्योरेन्स ५.५३% र लुम्बिनी विकास बैंक ५.२३% ले मूल्य वृद्धि भएका छन्।
विपरीत नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य सबैभन्दा बढी ४.२९ प्रतिशतले घटेको छ भने सीवाईसी लघुवित्त ३.०५% र नारायणी डेभलपमेन्ट बैंक २.०७% ले मूल्य घटेको छ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया रहेका छन्।








प्रतिकृया