प्रि–आईपीओको नाममा पैसा उठाउनेलाई धितोपत्र बोर्डको कडा चेतावनी
प्रकाशित मिति
२०८२ भाद्र ९ गते, सोमबार ०६:०७
भदौ ९,२०८२ काठमाडौं – नेपाल धितोपत्र बोर्डले ‘प्रि–आईपीओ’ को नाममा सर्वसाधारणबाट अनधिकृत रूपमा पैसा उठाउने क्रियाकलापप्रति कडा चेतावनी जारी गरेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत केही कम्पनीका नाममा सार्वजनिक निष्काशन (आईपीओ) नजिकै आएको भन्दै शेयर खरिदको प्रस्ताव गर्ने गतिविधि बढेपछि बोर्डले गम्भीर ध्यानाकर्षण गराएको हो।
बोर्डले मंगलबार प्रकाशित सूचनामार्फत लगानीकर्तालाई यस्ता स्किमहरूमा नफस्न आग्रह गर्दै प्रि–आईपीओ भन्ने कुरा हालको प्रचलित कानुनमै नभएको स्पष्ट पारेको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) अनुसार कुनै पनि संगठित संस्थाले एकपटकमा ५० जना भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्न चाहेको खण्डमा सार्वजनिक निष्काशनमार्फत मात्र बिक्री गर्नुपर्ने प्रावधान छ।
बोर्डले स्वीकृति विना कम्पनी वा संस्थाले सर्वसाधारणसँग शेयर बिक्री वितरण गर्न नपाउने उल्लेख गर्दै यस्ता गतिविधि कानुनविपरीत मात्र नभई दण्डनीय पनि हुने चेतावनी दिएको छ।
बोर्डले कुनै पनि अनधिकृत प्रस्ताव, सन्देश वा विज्ञापनहरूमा विश्वास नगर्न र यस्ता कार्यमा संलग्न व्यक्तिहरूबारे जानकारी भएमा सिधै बोर्डमा उजुरी दिनुहोस् भनी आग्रह समेत गरेको छ।







प्रतिकृया