सुधार हुँदै भारतसँग व्यापार घाटा, चीनसँग अड्किए पनि आयात बढ्दो
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार ०९:२७
भदौ ८,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले ८६ वटा मुलुकसँग व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १११ वटा मुलुकसँग व्यापार हुँदा जम्मा २५ देशसँग मात्र व्यापार नाफामा रहेको छ।
गत वर्षको यसै अवधिमा नेपालले १०३ मुलुकसँग व्यापार गरेकोमा ९० देशसँग घाटा व्यहोरेको थियो, भने नाफामा रहेका देशको संख्या १३ थियो।

नेपालको व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा भारतसँग रहेको छ। साउन महिनामा भारतसँग १ खर्ब २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ। यसमा ८३ अर्ब ५४ करोडको आयात र १९ अर्ब ४५ करोडको निर्यात भएको छ।

त्यसअनुसार भारतसँगको व्यापार घाटा ६४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यसै अवधिमा यो घाटा ७० अर्ब १० करोड रुपैयाँ थियो, जसअनुसार चालु वर्ष ६ अर्ब रुपैयाँले घाटा घटेको हो।
खाने तेलको निर्यातमा उल्लेख्य वृद्धि भएकोले भारतसँगको व्यापार घाटा घटेको विभागको विश्लेषण छ। साउन महिनामा १२ अर्ब ३१ करोड रुपैयाँको खाने तेल निर्यात भएको छ, जसमा १० अर्ब ६९ करोड रुपैयाँको भटमासको तेल मात्र रहेको छ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग पनि व्यापार बढेको छ। साउन महिनामा २८ अर्ब ५ करोड रुपैयाँ बराबरको व्यापार भएको छ। यसमध्ये २७ अर्ब ९९ करोड रुपैयाँ आयात र केवल ५ करोड ४८ लाख रुपैयाँ मात्रै निर्यात भएको छ।
चीनसँगको व्यापार घाटा २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बाढीका कारण रसुवागढी नाका बन्द र तातोपानी नाका बारम्बार अवरुद्ध हुँदा पनि व्यापार वृद्धि हुनु उल्लेखनीय देखिएको छ।
भारत र चीनपछि नेपालले सबैभन्दा धेरै व्यापार घाटा अर्जेन्टिना (९ अर्ब १२ करोड), कतार (२ अर्ब ४६ करोड), यूएई (१ अर्ब ८३ करोड) र इन्डोनेसिया (१ अर्ब ८२ करोड)सँग गरेको छ।
चालु आर्थिक वर्षको साउन महिनामा नेपालले कुल १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १ खर्ब २८ अर्ब रुपैयाँको तुलनामा ११.४२ प्रतिशतले वृद्धि हो।
उता, निर्यात पनि उल्लेख्य वृद्धि भएको छ। साउन महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १२ अर्ब २२ करोडको तुलनामा ९५.७५ प्रतिशतले बढी हो।
यद्यपि, निर्यात वृद्धिदरले आयात वृद्धिलाई छोप्न नसकेकाले व्यापार घाटा अझै बढेको भन्सार विभागको विश्लेषण छ। साउन महिनामा कुल व्यापार घाटा ११९ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.५५ प्रतिशतले बढी हो।
भन्सार विन्दुहरूबाट साउन महिनामै ३६ अर्ब ८१ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ३४ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठाइएको थियो। यसअनुसार चालु वर्ष राजस्व सङ्कलनमा समेत वृद्धि देखिएको छ।




प्रतिकृया