कुलिङ अफ पिरियड’ विवादमा आज राष्ट्रिय सभामा दफावार छलफल
प्रकाशित मिति
२०८२ भाद्र ४ गते, बुधबार १०:१४
भदौ ४,२०८२ काठमाडौं – निजामती सेवासम्बन्धी विधेयकमाथि रहेको ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्प्रभावी बनाउन गरिएको छलछाम विषयमा आज (बुधबार) राष्ट्रिय सभामा दफावार छलफल हुँदैछ।
यो प्रावधानलाई लिएर प्रमुखसचिव, संसदका महासचिव, सचिवहरूदेखि सांसदहरूबीच फरक–फरक मत व्यक्त भइरहेका छन्। दलहरूले पनि भिन्न–भिन्न संशोधन दर्ता गरेकाले अन्तिम छलफलमा सबैको चासो बढेको छ।
प्रधानमन्त्रीकै दल एमाले, लोसपा र मनोनीत सांसद अञ्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्। अर्कोतर्फ माओवादी सांसदहरूले यसलाई ३ वर्ष पुर्याउनुपर्ने संशोधन दिएका छन् भने कांग्रेस, जसपा नेपाललगायतले २ वर्ष कायम राखी छलछाम हटाउनुपर्ने प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाले यसअघि पारित गरेको प्रावधानअनुसार अवकाशप्राप्त निजामती वा सरकारी सेवाबाट राजीनामा दिने कर्मचारीले २ वर्ष पूरा नभएसम्म कुनै संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउन नपाउने व्यवस्था राखिएको थियो। तर, त्यससँगै दफा ८२ (५क) मा अर्को व्यवस्था कायमै रहँदा विवाद उत्पन्न भएको हो।
निजामती विधेयकमा हालसम्म १६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। राष्ट्रिय सभाले कानुनी प्रावधानअनुसार १७ भदौभित्र विधेयक फिर्ता पठाइसक्नुपर्ने भएकाले आजको छलफल निर्णायक हुने अपेक्षा गरिएको छ।








प्रतिकृया