सेयर बजार पनि राताम्य,कारोबार रकममा पनि गिरावट
प्रकाशित मिति
२०८२ श्रावण २७ गते, मंगलवार ०३:२९
श्रावण २७,२०८२ काठमाडौं —साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको छ। यससँगै नेप्से पछिल्लो १७ कारोबार दिनपछि पहिलो पटक २८०० विन्दुभन्दा तल झरेको हो। यसअघि गत असार ३२ गते नेप्से यस स्तरभन्दा तल बन्द भएको थियो।
यस दिन सेन्सेटिभ इन्डेक्स ४.०३ अंक, फ्लोट इन्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंकले घटेका छन्। कारोबार रकम पनि सोमबारको तुलनामा घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३२३ स्टकको १ करोड ७६ लाख ७१ हजार कित्ता शेयर ७८ हजार २२६ पटकको कारोबारमार्फत खरिदबिक्री भएको हो।
बजारमा सिटि होटलको शेयर ८० प्रतिशत हकप्रद समायोजनपछि सकारात्मक सर्किट लेभलमा कारोबार भएर ५७ रुपैयाँ ७८ पैसाले बढ्दै ६३६ रुपैयाँ २० पैसामा पुगेको छ। समाज लघुवित्तको शेयर पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। विपरीत, सिक्लेस हाइड्रोपावरको शेयर नकारात्मक सर्किटमा पुगेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षमा रह्यो, जसको २६ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। दोस्रो स्थानमा हिमालयन रि इन्स्योरेन्स (करिब २४ करोड) र तेस्रोमा लुम्बिनी विकास बैंक (२० करोडभन्दा बढी) रहे।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन मात्र १.३२ प्रतिशतले बढ्दा बाँकी १२ उपसमूह घटेका छन्। वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।








प्रतिकृया