घानामा सैन्य हेलिकप्टर दुर्घटना: रक्षामन्त्रीसहित ८ जनाको मृत्यु
प्रकाशित मिति
२०८२ श्रावण २२ गते, बिहीबार १०:१८
श्रावण २२ ,२०८२काठमाडौं– घानामा एक सैन्य हेलिकप्टर दुर्घटनामा परी रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन वरिष्ठ अधिकारी र तीन वायुसेना कर्मचारीको पनि ज्यान गएको छ।
घाना सशस्त्र बलका अनुसार, उक्त हेलिकप्टर राजधानी अक्राबाट ओबुआसी तर्फ उडान भरिरहेको थियो, तर उडानको केही समयमै राडार सम्पर्क विच्छेद भएको थियो। पछि हेलिकप्टर दक्षिणी आशान्ती क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। राज्य सञ्चालित मिडियाका अनुसार, दुर्घटनामा परेको हेलिकप्टर एक युटिलिटी हेलिकप्टर थियो, जुन सामान्यतया यातायात तथा चिकित्सा उद्दारका कार्यहरूका लागि प्रयोग गरिन्छ।
घटनापछि घानाका राष्ट्रपति तथा सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। यो दुर्घटनालाई एक दशकभन्दा बढी समययताकै घानाको सबैभन्दा गम्भीर विमान दुर्घटनाका रूपमा लिइएको छ। हाल दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको जनाइएको छ।








प्रतिकृया