‘कुलिङ अफ पिरियड’ विवादमा रास्वपाको निष्कर्ष– खतिवडाले राजीनामा दिनुपर्छ
प्रकाशित मिति
२०८२ श्रावण २१ गते, बुधबार १२:०८
श्रावण २१ ,२०८२ काठमाडौं – काठमाडौं, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवा विधेयकको मस्यौदामा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी छेडछाड प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा माग गरेको छ।
हिजो बसेको रास्वपाको सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्। संसदको छानबिन समितिबाट आएको प्रतिवेदनमा खतिवडाले आवश्यक समन्वय गर्न नसकेको र नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख भएपछि रास्वपाले उनको राजीनामा माग गरेको हो।
प्रवक्ता झाले भने, “‘कुलिङ अफ पिरियड’ मा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै सभापति खतिवडाले राजीनामा दिनु उपयुक्त हुन्छ। छानबिन समितिबाट आएको प्रतिवेदनले उहाँमा नैतिक पतन र नालायकीपन देखाएको छ। अब उहाँ सभापतिमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभएको छ।”
बैठकमा पार्टीको विधान संशोधन गर्दै उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई ‘कुलिङ अफ पिरियड’ लागू गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ। सो अनुसार, सरकारी सेवाबाट निवृत्त भएको दुई वर्षसम्म पार्टी सदस्य बन्न नपाउने प्रस्ताव आएको हो।
यसबाहेक, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ व्यक्तित्वलाई पनि पार्टीमा नल्याउने प्रस्ताव गरिएको जानकारी प्रवक्ता झाले दिए। “समय अभावका कारण हिजोको बैठकमा विस्तृत छलफल हुन सकेन, तर अर्को बैठकमा यसबारे थप छलफल गरी निर्णय लिइनेछ,” उनले भने।
बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा उम्मेदवारी दिने उद्देश्यले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेको छ।








प्रतिकृया