प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रकाशित मिति
२०८२ असार १९ गते, बिहीबार ०४:२८
असार १९, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको राजधानी मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गरेका छन्।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रङ्गशालाको अवलोकन गराएका हुन्। भ्रमणपछि ओलीले आफू रियल मेड्रिडको प्रशंसक भएको बताउँदै यति सुविधासम्पन्न रङ्गशाला प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।
रङ्गशाला भ्रमणको क्रममा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको आधिकारिक जर्सी उपहार स्वरूप प्रदान गरेका थिए। उनले नेपाली विद्यार्थीहरूलाई रियल मेड्रिडको प्रशिक्षण कार्यक्रम र भर्ना प्रक्रियामा सहभागी हुन पनि प्रोत्साहित गरेका छन्।
संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भएर स्पेनको सेभियाबाट मेड्रिड आएका प्रधानमन्त्री ओलीले त्यहाँ विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्।
रङ्गशाला भ्रमणमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल लगायत सहभागी थिए।








प्रतिकृया