• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०६:०८

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो ।

National Life

आयोगका अनुसार पूर्वअध्यक्ष यादव सहितको सङ्लग्नतामा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटमा चरम अनियमितता भएको थियो । चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८र ७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि २ दुई करोड १६ लाख रुपैयाँ छुट्याएको थियो ।

गाउँपालिकाका सबै नौ वडाका लागि नौवटै शीर्षकमा उक्त रकम विनियोजन गरिएको थियो । छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी ठेक्का लगाएर अनियमितता भएपछि अख्तियारमा उजुरी परेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उजुरी निवेदनमाथि अनुसन्धान हुँदा स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकमलाई पोल खरिद, सोलार प्यानल खरिद, लाइटरताररनटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई पाँचवटा प्याकेज बनाइएको पाइएको आयोगले जनाएको छ । सुरुमा स्वीकृत विनियोजित बजेटभन्दा बढी हुनेगरी दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँको लागत अनुमान स्वीकृत गराएको पनि विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।

आयोगले गाउँपालिकाका तत्काली अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर, सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय, सब-इन्जिनियर राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव र एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगीता कुमारीविरुद्ध कसुर रकम बमोजिमको बिगो मागदाबी गरेको हो ।

प्रतिकृया