गृहमन्त्री लेखकको स्पष्टीकरण : भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन
प्रकाशित मिति
२०८२ जेष्ठ १४ गते, बुधबार ०५:३५
काठमाडौँ । भिजिट भिसा प्रकरणमा नाम जोडिँदै आएको गृहमन्त्री रमेश लेखकले आफू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री लेखकले आफूमाथि लागेका आरोपको खण्डन गरेका हुन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा लिएकोबारे सञ्चारमाध्यममार्फत जानकारी पाएको बताए। “त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,” मन्त्री लेखकले भने।

गृहमन्त्री लेखकले अख्तियारले अनुसन्धान थालेको विषयमा आफ्नो नाम जोडेर आएको टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाए। “यो जसरी संलग्नता देखाएर समाचारहरू सार्वजनिक भएका छन्, त्यो बेठिक हो। मेरो कुनै संलग्नता छैन,” उनले भने, “यो राजनीतिक पूर्वाग्रहले प्रेरित भएको देखिन्छ।”

संसद्मा आफ्नो धारणा राख्न खोजे पनि प्रतिपक्षीको अवरोधका कारण सम्भव नभएको मन्त्री लेखकले बताए। “सम्मानीत सदनमै आफ्ना धारणा राख्न सभामुखलाई आग्रह गरेको थिएँ,” उनले भने, “हिजोको बैठकमा राख्न सकिनँ, आज पनि समय माग गरेको थिएँ तर अवसर प्राप्त गरिनँ।”
संसद्मा अभिव्यक्ति दिन नपाएको अवस्थामा सञ्चारमाध्यममार्फत देशवासीलाई जानकारी दिन आफू पत्रकार सम्मेलनमा उपस्थित भएको मन्त्री लेखकले स्पष्ट पारे।




प्रतिकृया