गृहमन्त्रीको राजीनामा माग राष्ट्रियसभासमेत गुञ्जियो
प्रकाशित मिति
२०८२ जेष्ठ १४ गते, बुधबार ०२:३५
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशंका भइरहेका बेला राष्ट्रियसभामा समेत गृहमन्त्रीको राजीनामाको माग गरिएको छ।
बुधबार राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गरे। उनले यस मामिलामा गृहमन्त्रीलाई अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखसहित केही कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गिरफ्तार भइसकेका छन्। यस प्रकरणको अन्तर्राष्ट्रिय प्रभावसमेत परेको भन्दै सांसद अछामीले सरकारको जवाफदेहितामा प्रश्न उठाए। उनले दुई तिहाइको बलियो सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि उक्त विषयमा सभाको ध्यानाकर्षण भएको जानकारी दिए। प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। यद्यपि राष्ट्रियसभा बैठक भने सामान्यरूपमा सञ्चालन भएको छ।
आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, स्वास्थ्य तथा जनसङ्ख्या, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।








प्रतिकृया