• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै, छुट्टाछुट्टै तयारीमा नाउपाका दुई पक्षका सांसद

प्रकाशित मिति

२०८१ बैशाख २१ गते, शुक्रबार ०९:४१

वैशाख २१, २०८१ काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने वा नदिने भनेर नागरिक उन्मुक्ति पार्टीका सांसदहरू दुई पक्षमा उभिएका छन्। पार्टी संरक्षक रेशम चौधरी पक्षका प्रदेश सांसदहरूले विश्वासको मत नदिने निर्णय लिएका छन्। अर्कोतिर, अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसदहरूले भने विश्वासको मत दिने तयारी गरिरहेका छन्।

National Life

संसदीय दलको बिहीबारको बैठकले विश्वासको मत नदिने निर्णय लिएको चौधरी पक्षका सांसद तथा संसदीय दलका नेता घनश्याम चौधरीले नेपाल भ्युजलाई बताए। ‘संसदीय दलको नेताको हैसियतमा म भन्छु- मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ’, उनले भने।

संसदीय दलको बैठकमा दुई सांसद (कैलाश चौधरी र टीका थापा) अनुपस्थित भएको उनले बताए। ‘उहाँहरू अनुपस्थित भए पनि संसदीय दलको निर्णय अनुसार ह्विप लगाउँछौँ’, उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

संरक्षक चौधरीको पक्षमा प्रदेश सभामा पाँच सांसदहरू छन्। उनीहरूले दीर्घ सोडारीले नाउपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका थिए। तर त्यसलाई बेवास्ता गर्दै मियाँले सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिदिएका थिए। त्यो पक्ष अहिले पनि वर्तमान सत्ता गठबन्धनको विपक्षमै छ।

गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेपछि नै नाउपाभित्र विवाद देखिएको छ। त्यसको सुरुवात नै सुदूरपश्चिम प्रदेशबाट भएको थियो। त्यहाँ संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ आ-आफ्नै रणनीतिमा अघि बढिरहेका छन्। तत्कालीन कांग्रेस सरकारमा चौधरी पक्षले आफ्ना सांसदहरूलाई मन्त्री बनाएको थियो। अहिले एकीकृत समाजवादी नेतृत्वको सरकारमा श्रेष्ठ पक्षले आफ्ना सांसदहरूलाई मन्त्री बनाएको छ।

श्रेष्ठ पक्षबाट मन्त्री बनेका दुवै सांसद कैलाश चौधरी र टीका थापाले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने बताए। ‘हामी विश्वासको मत दिन्छौँ’, मन्त्री कैलाशले नेपाल भ्युजसँग भने, ‘मलाई लाग्छ, नाउपाका सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुहुनेछ।’

उनले अर्को पक्षको संसदीय दलको बैठक बसेको र विश्वासको मत नदिने भनेर निर्णय गरेको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए।

संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भनेर ह्विप लगाइने र त्यसको उल्लंघन भएमा संविधान र कानुन अनुसार अगाडि बढ्ने चेतावनी पनि दिए।

यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत दिने तयारी थाल्दा नाउपाको पार्टी केन्द्र र प्रदेश सभा संसदीय दलले विपरीत किसिमका छुट्टाछुट्टै ह्विप लगाएका थिए। तर त्यति अन्तिम समयसम्म विश्वासको मत पाउने सम्भावना नदेखेपछि शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए। जसकारण फरकफरक ह्विपको उल्लंघन हुने सम्भावना टरेको थियो। यसपटक भने नाउपाको विवाद एक तह अगाडि बढ्ने आकलन गरिएको छ।

मुख्यमन्त्री सोडारीले शुक्रबार बेलुका बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन्।

प्रतिकृया