• १५ असोज २०८३, बिहीबार
  • १ः१५ राती

मातृभूमिन्युज आजदेखि छैठौं वर्षमा प्रवेश

प्रकाशित मिति

२०८० फाल्गुन ८ गते, मंगलवार ०७:१८

८ फागुन, २०८०, काठमाडौँः मातृभूमिन्युज डट कम आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ । २०७५ फागुन ८ गते स्थापना भई स्थापनाकालदेखि नै मातृभूमिन्युज डटकमले नेपाली र अंग्रेजी भाषामा समाचार प्रकाशन गर्दै आइरहेको छ । मातृभुमीन्युजले संवैधानिक सर्वोच्चता, संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, पारदर्शिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार, न्यायपुर्ण, समाबेशी र समतामुलक समाज र बिकास समृद्धीलाई आधारभूत मार्गदर्शन मान्दै समाचार र विचार प्रवाह गर्दै आएको छ र सधैँ यहीँ मूल्य मान्यतामा अडिग रहेर समाचार तथा सूचनाहरु पस्किने छ ।

National Life

जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी, अर्थात मातृभूमि र आफ्नो जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्रिय हुन्छ । यो संस्कृतको श्लोकले उल्लेख गरे अनुसार हाम्रो देश नेपाल, हाम्रो मातृभूमिको अस्मिता, स्वायत्तता, स्वतन्त्रता र यसको प्रतिष्ठालाई अक्षुण्य राख्दै यस मातृभूमिमा रहेका सन्ततिहरुले सुःख, समृद्धि र विकासको मार्गमा अगाडि बढी सुख, सम्मान र प्रतिष्ठाका साथ जीवनयापन गर्न पाउन् भन्ने पवित्र उद्देश्यका साथ अनलाइनको नामाकरण मातृभूमिन्यूज गरिएको हो भन्ने पनि यहाँहरु सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौं । त्यही पवित्र उद्देश्यलाई केही हदसम्म प्राप्तिको लागि पत्रकारिताको माध्यमबाट हामीले सक्दो कोशिस गरिरहेका छौं । मातृभूमिले हामीलाई बस्ने ठाउँ भूगोल, नागरिकताको पहिचान र केही गरेर खाने अवसर दिएको छ । मातृभूमिको यसको नागरिकप्रतिको देन र महिमालाई शब्दमा वर्णन गर्न सकिदैन । यही कुरालाई शिरोधार्य गरेर मातृभूमिको लागि केही गर्ने पवित्र उद्देश्यका साथ हामीले यो अनलाइनको शुरुआत गरेका हौं । देशमा भैरहेको विसंगति, बेथिति, अन्याय, अत्याचार, भेदभाव, भ्रष्टाचार आदि विरुद्ध हामी निर्भिक भएर कलम चलाउँछौं भने देशमा भैरहेका विकास निर्माणका कार्यहरु, नीति निर्माण तहमा भएका सकारात्मक कदमहरु, सरकारले जनताको हित र सुविधाका लागि चालेका कदमहरुलाई हामी मुक्त कण्ठले तारिफ गरि हौसला प्रदान गर्दछौं ।

सत्यलाई खोजेर तथ्यले पुष्टि गर्ने हाम्रो पहल र प्रयत्न छ । सन्तुलित र विश्वसनीयतालाई मुल मन्त्र मान्दै हामी मातृभुमिन्युजमार्फत प्रकाशन र प्रसारण हुने सबै किसिमका सूचना तथा समाचारहरूको सत्यताप्रति सधैँ सजग र सचेत छौँ । हामीले छोटो समयमै हाम्रो वेबसाइटमा ठूलो संख्यामा पाठकहरू पाएका छौँ । यसबाट हामी गौरवान्वित र खुसी पनि भएका छौँ । हो, हामी सिक्ने क्रममा छौँ । हाम्रा सामग्रीहरू पूर्णरूपमा त्रुटिरहित थिए र छन् भन्ने हाम्रो दाबी छैन । तर कमीकमजोरीलाई सुधार्दै आगमी दिनमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

Classic Tech Mobile
Classic Tech Desktop

पाठकहरूले औँल्याउने त्रुटि र पाठकहरूको प्रतिक्रियाको हामी सधैँ स्वागत गर्दछौँ र सुझावअनुसार थप परिष्कृत गर्दै जानेछौँ । हामी पत्रकारिताका प्रचलित मूल्यमान्यता, आचारसंहिता र कानूनी दायरामा सधैँ सजग छौँ । आधुनिक प्रविधिले ल्याएको सुविधाको अधिकतम् उपयोग गर्दै पाठकहरुलाई सही समाचार, विचार र विश्लेषण पस्कने हाम्रो निरन्तर पहल रहने छ । हामीलाई थाहा छ पत्रकारिता पेशाा चुनौतिपुर्ण छ तर सामाजिक उत्तरदायित्वको भावनाले हामीमा आत्मबल थपेको छ ।

अनलाइन माध्यमबाट पाठक र श्रोतासमक्ष पुर्याउन सकिने समाचार र विचारका सबै सामग्री प्रस्तुत गर्न हामी प्रयासरत नै छौँ । अनुभवबाट सिक्दै आगामी दिनमा मातृभुमीन्युजलाई अझ परिष्कृत बनाउँदै जाने हाम्रो प्रयास जारी रहनेछ । अनलाइन सञ्चार माध्यम कुनै एक ठाउँको एक कुनामा मात्र सीमित छैन । संचार क्षेत्रमा भएको प्रविधिको बिकासले हामीलाई विश्वव्यापी बनाएको छ । हामीले सोहीअनुसार मानवीय चासोलाई मध्यनजर गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रमुख घटनाका समाचार सामग्री प्रस्तुत गर्दै आएका छौँ ।

नेपालको हित प्रवद्र्धन हाम्रो मूल ध्येय रहेको छ । विविधि समाचार, विचार र मानवीय चासोका विषयहरू पाठकको रुचिअनुसार पठनीय बनाउन हामी सधैँ प्रतिबद्ध छौँ । हामीलाई राज्यका कानून र पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता परिपालनाबाहेक कुनै पनि प्रभाव र दबाब स्वीकार्य छैन । हामी कुनै निश्चित आस्था, बिचार र वाद तथा आग्रह पुर्वाग्रहबाट माथि उठ्न चाहन्छौ । जिम्मेवारीसहित खबरेदारी र पहरेदारी गर्ने क्रममा परिवर्तित राजनीतिक घटनाक्रमलाई पनि हामीले सचेततापुर्वक नियालिरहेका छौं ।

वर्तमान स्थितिलाई विश्लेषण गर्दा हामी आगामी दिनमा निम्नलिखित कुरामा विशेष ध्यान दिएर कलम चलाउने जमर्को गर्नेछौं ।
नेपालले विकास गर्न नसकेको मुख्य कारणमा राजनीतिक अस्थिरता र भ्रष्टाचार हो । हालका वर्षहरूमा नेपालको सरकारमा बारम्बार परिवर्तन र राजनीतिक अस्थिरताको अनुभव गरेको छ, जसमा भ्रष्टाचार प्रमुख मुद्दा बनेको छ । त्यसैले अहिलेको समयमा हाम्रो मुख्य भूमिका भनेको हामीले भ्रष्टाचारका घटनाहरूको अनुसन्धान र रिपोर्टिङ गर्नुपर्छ र राजनीतिज्ञहरूलाई उनीहरूका कार्यहरूको लागि जवाफदेही बनाउन सक्नुपर्दछ ।

साथै नेपाल जलवायु परिवर्तनका प्रभावहरूको लागि अत्यधिक जोखिममा छ, र यसको पारिस्थितिक प्रणालीहरू वन विनाश, प्रदूषण र अन्य प्रकारका वातावरणीय ह्रासबाट गम्भीर खतराहरूको सामना गरिरहेका छन् । भविष्यमा हामीले यस सम्बन्धमा रिपोर्टिङ गरेर दिगो विकास अभ्यासहरूको वकालत गर्नुपर्छ ।

यसरी नै हालैका वर्षहरूमा केही प्रगति भएता पनि, उच्च स्तरको आर्थिक असमानतासहित नेपाल दक्षिण एसियाकै गरिब देशहरूमध्ये एक भएको छ । हामीले गरिबी र असमानताका कारणहरू खोज्नुपर्छ र यी समस्याहरूलाई सम्बोधन गर्नका लागि नीति निर्माताहरूलाई जवाफदेही बनाउने तर्फ हाम्रो आगामी कदम हुनेछ ।

यस बाहेक नेपालले आफ्नो जनसंख्यालाई विशेष गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ । हामीले शिक्षा र स्वास्थ्य सेवाको अवस्थाको बारेमा रिपोर्ट गरेर यी सेवाहरूको पहुँच र गुणस्तर सुधार गर्ने नीतिहरूको वकालत गर्नुपर्छ । अनि मात्र हामी आफ्नो कर्तव्यमा सफल भएको ठानिनेछ ।  

जनतालाई देश विदेशमा घटेका घटनाहरुको बारेमा सूसुचित गराउनु र सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउन हाम्रो महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ, नेपाली समाजलाई असर गर्ने विषयहरूमा सही, सन्तुलित र वस्तुनिष्ठ रिपोर्टिङ गर्नु हाम्रो कर्तव्य हो ।

साथै देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र, नातावाद, कृपावाद आदि विसंगति र वेथिति विरुद्ध अनुसन्धान र रिपोर्टिङ गर्नु हाम्रो अहम जिम्मेवारी हो । साथै सत्यको पर्दाफास गर्ने र अरुले ध्यान नपु¥याएको मुद्दाहरूमा प्रकाश पार्ने जिम्मेवारी पनि हामीसँग छ । यसमा सरकारी अव्यवस्था, मानवअधिकार उल्लङ्घन, वातावरणीय ह्रास, र अन्य कुरामा आवाज उठाउनु पनि हाम्रो कार्यक्षेत्रभित्र पर्दछ ।

हामीले विवादित वा विभाजनकारी मुद्दाहरूमा सन्तुलित रिपोर्टिङ गर्ने लक्ष्य राखेका छौं । हामी विषयवस्तुको दुवै पक्षलाई प्रस्तुत गर्न र सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गर्न हरबखत क्रियाशिल छौं । यसबाट नै हाम्रो रिपोर्टिङमा निष्पक्ष, वस्तुनिष्ठ र व्यावसायिकता आउँछ ।

हाम्रो अर्को अहम जिम्मेवारी भनेको प्राकृतिक प्रकोप वा राजनीतिक उथलपुथल जस्ता संकटको समयमा सहि र समयसापेक्ष सूचना उपलब्ध गराउनु पनि हो । हामीलाई यो राम्रो गरी थाहा छ कि हामीले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका मूल्यमान्यताको प्रवद्र्धन गर्न हरबखत भरमग्दुर पहल गर्नुपर्छ । अनि मात्र हामीले न्यायपूर्ण, समतामूलक र विकसित समाजको स्थापनाको लागि महत्वपूर्ण योगदान पु¥याउन सक्दछौं ।

मातृभुमी हिमाल मल्टिमिडिय प्रालिले संचालन गरेको मातृभुमीन्युज डट कमको गौरवमय छैठौं वार्षिकोत्सवका अवसरमा हामी हाम्रा समस्त पाठक, प्रबुद्ध लेखक, विज्ञापनदाता र शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । बिगतमा जस्तै आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

प्रतिकृया