• १० असोज २०८३, शनिबार
  • २ः०८ दिउँसो

मदन पुरस्कार विजेता ओझालाई सम्मान

प्रकाशित मिति

२०८० मंसिर ४ गते, सोमबार ०९:३१

मंसिर ४, २०८० टीकापुर (कैलाली) : विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

National Life
लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताउनुभयो ।  उहाँले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताउनुभयो । “मैले युद्धपछि पीडामा रहेकाहरुलाई देखेँ, भेटेँ, उनीहरुको मानसिक अवस्था विचलित भएको पाएँ”, उहाँ भन्नुहुन्छ, “विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।”

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताउनुभयो । “कष्ठकररुपमा बितेका पाँच वर्षपछि अहिले राहत महसुस भएको छ”, उहाँ भन्नुहुन्छ । उहाँको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो । ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । “इतिहासमा साहित्यिक उपन्यासविरुद्ध यो पहिलो मुद्दा थियो”, लेखक ओझाले भन्नुभयो । 

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताउनुभयो । “यो टीकापुरका लागि गौरवको कुरा हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “यस्ता सर्जकलाई हौसला दिनुपर्छ ।”

वीरेन्द्र विद्यामन्दिर माविका सहप्राचार्य डा योगेन्द्रप्रसाद बजगाईले आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकले देशकै सर्वोत्कृष्ट मानिने मदन पुरस्कार प्राप्त गरेकामा आफूलगायत विद्यालयले गर्व महसुस गरेको बताउनुभयो । “विद्यालय परिवार खुसी छ, ओझा हाम्रो विद्यार्थी हो भन्दा विद्यालय हर्षित छ”, उहाँ भन्नुहुन्छ, “उहाँको लेखन क्षमता थप सशक्त भएर अघि बढोस् ।”

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेख्नुभयो । विसं २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिनुभएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो । उहाँले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गर्नुभयो । पछि काठमाडौँ गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभयो । 

प्रतिकृया