• २८ भदौ २०८३, आइतबार
  • १२ः४० दिउँसो

तिहारमा जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट मात्रै १६५ जना पक्राउ

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार ११:११

मंसिर १, २०८० काठमाडौँ: काठमाडौं उपत्यकामा तिहारको समयमा आपराधिक घटनाहरू सामान्य रहेको प्रहरीको प्रारम्भिक विश्लेषण छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जारी गरेको विज्ञप्तिअनुसार जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका छन्। यो संख्या दसैं सकिएपछि अर्थात कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको हो ।

National Life

प्रभावकारी रूपमा प्रहरी परिचालन र प्रविधि समेतको प्रयोगले घटनाहरू धेरै नभएको उनले बताए । तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो। जहाँबाट १३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको छ ।

त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको हो । यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ। पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी आगलागीका १४ वटा घटनाहरू भएका छन् । काठमाडौंमा आठ स्थान, ललितपुरमा ४ स्‍थान र भक्तपुरमा दुई स्थानमा आगलागी भएको थियो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा लक्ष्मीपूजा गर्नेक्रममा दियोबाट सल्किएर आगलागी हुँदा ८२ वर्षीया वृद्धाको मृत्यु भएको थियो।

आगलागीबाट समग्रमा आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको एसएसपी मैनालीले बताए । उनका अनुसार कात्तिक ११ गतेयता सवारी दुर्घटनामा ७ जनाले ज्‍यान गुमाएका छन्। काठमाडौंमा दुर्घटना हुँदा दुई जनाको, ललितपुरमा ४ जना र भक्तपुरमा एक जनाको मृत्यु भएको छ । यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

यस्तै उपत्यकामा ३७ ठाउँमा चोरी भएको छ। जसमा संलग्न ७ जनामात्रै पक्राउ परेका छन् । काठमाडौंमा २७ लाख ७९ हजार ४४५ रुपैयाँ बराबरको, ललितपुरमा २५ लाख ३० हजार ७५० र भक्तपुरमा ५० लाख ५६ हजार बराबरको चोरी भएका छन् ।

काठमाडौंमा पाँच ठाउँमा लुटपाट पनि भएका छन् । जसमा संलग्न तीन जना पक्राउ परेका छन् । यी आपराधिक घटनामा संलग्न आरोपीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया