• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रष्टाचारमुक्त बनाउन सकिने अनुसन्धानकर्ता जय साहको दाबी

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०४:३९

कात्तिक २२, २०८० काठमाडौँ : अनुसन्धानकर्ता जय साहले नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रटाचारमुक्त बनाउन सकिने दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन साहले आफूले अनुसन्धान गरेर ‘द कल्किस्ट मेनिफेस्टो’ नामक पुस्तक तयार पारेको बताए । हाल अमेरिकामा बस्दै आएका साह आफ्नो नयाँ भीजनलाई साकार पार्नको लागि नेपाल आएका हुन् ।

National Life

उक्त पुस्तक नेपाललाई भ्रष्टाचारमुक्त बनाउन रोडम्याप सावित हुने उनको भनाई छ । नेपाललाई तीन वर्षभित्र क्यासलेस बनाउन सकिने र त्यसको दश वर्षभित्र मनीलेस बनाउन सकिने उनको भनाई छ । क्यासलेस सर्भिस दूरदराजमा रहेका र टेक्नोलोजी नजानेकाहरुले पनि सहज रूपमा प्रयोग गर्नसकिने उनले बताए । क्यासलेस सभिर्सका लागि आफूले स्मार्ट करेन्सीको परिकल्पना गरेको उनको भनाई छ । एउटा व्यक्तिका लागि विभिन्न दरका तीन वटा नोट दिने र त्यसमा बारकोड राखेर बैंकसँग लिङ्क गराएर सहज रुपमा प्रयोग गर्नसकिने उनको भनाई छ ।


‘मैले स्मार्ट करेन्सी भनेर एउटा कन्सेप्ट लन्च गरेँ । स्मार्ट करेन्सी भनेको के हो भने तपाईंको गोजीमा भएको पैसामा बारकोड हालिदिने र रिमोर्ट एरियामा भएका पसलहरुमा पनि बारकोड स्क्यानर हालिदिने । एउटा परिवारका लागि सरकारले तीन वटा करेन्सी फिक्स गर्नुपर्छ,’– उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

आफूले अनुसन्धानबाट तयार गरेको पुस्तक र क्यासलेस सर्भिसले नेपालका लागि धेरै ठूलो उपलब्धी हुने उनले बताए । नेपालमा यो व्यवस्था लागू गर्न सकिन्छ भनेर अनुसन्धानबाट प्रमाणित भएको उनको दाबी छ । उनले नेपाललाई क्यासलेस गरेको सातदेखि दश वर्षमा मनीलेस कन्सेप्ट लागू गराउन सकिने बताए । मनिलेस कन्सेप्टमा कोही धनी र गरिब नहुने उनको भनाई छ । आफूले लेखेको पुस्तक नेपालमा व्याप्त रहेको भ्रष्टाचारमुक्त गर्नका लागि रोडम्याप हुने अनुसन्धानकर्ता साहको दाबी छ ।


उक्त अनुसन्धानको आधारमा क्यासलेस सर्भिस लागू गरेको खण्डमा नेपाल राष्ट्र बैंकबाहेक अन्य सबै बैंक बन्द हुने उनले बताए । उक्त बैंक रहेका स्थानलाई अस्पताल र विद्यालयको रूपमा प्रयोग गर्न सकिने उनले बताए । क्यासलेस व्यवस्थामा जाँदैगर्दा सराकारले आफ्ना नागरिकलाई शून्य व्याजदरमा जतिपनि ऋण दिनसक्ने उनको भनाई छ ।


‘नेपालमा एउटा पनि बैंक चाहिँदैन । क्यासलेस भएपछि सबै बैंक बन्द हुन्छ । अहिले भएका सबै बैंकहरुमा हस्पिटल, स्कुल खोल्न मिल्छ ।’ उनले भने, ‘जनताले जति लोन चाहियो, एक रुपैँया ब्याज नतिरी सरकारले जतिबेला पनि लोन दिन मिल्छ ।’
आफ्नो अनुसन्धानले प्रमाणित गरेको व्यवस्था नेपालमा लागू गराउँदा नेपाल विश्वको पहिलो क्यासलेस देश बन्ने उनको दाबी छ । देशलाई क्यासलेस बनाएर नेपाललाई विश्वमा पहिलो भ्रष्टाचारमुक्त देश बनाउन आफू लागिरहेको उनले बताए । ‘नयाँ व्यवस्था आउँदैछ, यो व्यवस्थामा नेपाल विश्वमा पहिलो देश हुन्छ । हामी नेपाललाई तीन वर्षभित्र विश्वको पहिलो भ्रष्टाचारमुक्त देश बनाउन सक्छौं । त्यही हाम्रो रोडम्याप हो,’– उनले भने ।


कार्यक्रममा अर्का वक्ता प्रा.डा उमाशंकर साहले अहिले क्लाइमेट चेन्ज र भ्रष्टाचारको समस्या क्रोनिक क्यापिटालिज्मको समस्या भएको बताए । क्रोनिक क्यापिटालिज्म अन्त्य नगरेसम्म भ्रष्टाचारको समस्या समाधान हुन नसक्ने उनको भनाई छ ।
ई–फाइनान्सिङको व्यवस्था भएमा नेपाललाई भ्रष्टाचारमुक्त बनाउन सकिने विचार उनले राखे । ई फाइनान्सिङमा जाँदा कारोबारको डाटा कहीँ न कहीँ रहने हुँदा व्यक्तिले चाहेर पनि भ्रष्टाचार गर्न नसक्ने उनको भनाई छ ।
नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउनका लागि कामको आधारमा कारोबार सिस्टम लागू गर्न आवश्यक रहेको उनले बताए । कामको आधारमा वस्तु तथा सेवाहरु खरिद गर्नसकिने उनले बताए ।

प्रतिकृया