• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०२:२६

कात्तिक २२, २०८० जाजरकोट : गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्। उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छिन् ।

National Life

उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताइन् । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।


राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएक मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उनले सुनाए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए ।


बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।

प्रतिकृया