• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०९:१२

असोज २५, २०८० नवलपरासी : नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

National Life

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।


गत २०७९ साउन मा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि २०८० भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताए ।


“पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जनाले अहिले काम गरिरहेका छन् भने १३ वटा स्काभेटर, सात ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन”, उनले भने, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।”


आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताए । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ”, उनले भने, “गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।”


पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताए । “पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ”, उनले भने, “बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।”


चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।


सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।


साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो ।

प्रतिकृया