• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने : महानिरीक्षक कुँवर

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार १२:२६

असोज १०, २०८० काठमाडाैं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताएका छन् ।

National Life

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन । कार्यक्रममा उनले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक गरे । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । उक्त क्यूआर कोड कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा आजैदेखि कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिनाभित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने उक्त कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई उक्त कार्यालयले अनुरोध समेत गरेको छ । उक्त क्यूआर कोड हाल कोशी प्रदेश प्रहरी कार्यालय र मातहत कोशी प्रहरी प्रदेश तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूका गेट लगायतका सार्वसाधारणको सहज पहुँच हुने सार्वजनिक ठाउँमा उपलब्ध गराइएको छ ।


साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुका साथै उक्त कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रतिकृया