• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०३:४०

असोज ३, २०८० काठमाडौं : वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो भएको बताए ।

National Life

‘हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ । यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ । गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा रहेको छ’, सचिव मरासिनीले भने ।


उनले हस्तकला क्षेत्रमा नेपाली कालिगढको अभाव हुनुको कारण खोज्नु आवश्यक रहेको जनाउँदै यसलाई महासङ्घले ध्यान दिएर प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीहरुलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरु तय गरिनुपर्छ । समस्याहरु धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरुका विषयमा हस्तकला महासङ्घले सुरु गरेको काम महत्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरु के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरु छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,’ निर्देशक राणाले भने। उनले हस्तकला वस्तुको निकासीका लागि पारवहन र ढुवानीका समस्या समाधान गर्नाका साथै बजारहरुको खोजी गर्नुपर्ने धारणा राखे ।


नेपाल बैंक लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैंकले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताए। उनले व्यवसायीहरुको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्ट अप बिजनेसदेखि नै सहयोग गर्ने बताए। ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुति गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरुको सहभागिता धेरै रहेको बताए।


उनले निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरु निकासी हुने गरेको बताए । हस्तकला उद्योगको विकास, संरक्षण र प्रवर्द्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले प्रष्ट पारे ।


नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्दै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गरे ।

प्रतिकृया