सरकारले जग्गा उपलब्ध गराएर क्रिकेट स्टेडियम बनाउन हामी तयार : मेयर बालेन
प्रकाशित मिति
२०८० भाद्र १९ गते, मंगलवार ११:१४
भदौ १९, २०८० काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराएर क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले पहल लिने बताएका छन्।
नेपाल-भारत खेल हेर्न श्रीलंका पुगेका बालेन शाहले त्यहाँ भएकै स्तरको रंगशाला बनाउन ८०–९० करोड लाग्ने र जग्गा उपलब्ध भए काठमाडौं महानगरपालिकाले बनाउने बताएका हुन्।
‘फ्यानका रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा त्यहाँका अध्यागमनको कर्मचारीको प्रश्न थियो- यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन्? श्रीलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १ हजार ५०० देखि दुई हजारको बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला।’
मेयर शाहले श्रीलंकाको स्टेडियम पनि त्रिविको जस्तै भएको बताएका छन्।
‘केही प्यारापिट र अलि बढी सुविधा थियो। नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक एक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं। यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ।’
तल्लो तहका सिकाइ सुविधाका लागि महानगरका वडापिच्छे बलिङ नेट राख्न थालिएको पनि बताएका छन्।








प्रतिकृया