• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन भक्तपुरको चाँगुनारायण–८ मा विशेष पूजा कार्यक्रमको आयोजना गर्दै, १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गर्ने

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार १०:४१

३२ श्रावण २०८०, काठमाडौँ:  मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । हिजाे (बुधबार) रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौ ४ गते ११औँ नागपञ्चमीका दिन २७ फिट कालीनागको विशेष पूजा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

National Life

सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीकोपनि उपस्थिति रहने संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुजङ्ग बस्नेतले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा ५४ रोपनी जग्गामा १ सय ८ फिटको शिवको मूर्ति र अन्य देवीदेवताहरूको प्रतिकका साथै धार्मिक पर्यटकीयस्थल बनाउने आफूहरूको सपना रहेको बताए। वर्षमा दुईपटक नागपञ्चमी र शिवरात्रीको पूजाको अवसरमा १ सय ८ गाडी र १ सय ८ बाजागाजासहितको ¥याली लग्ने तयारी भइरहेको उनले बताए । विगतमा धेरै क्रान्तिहरू भएको र नगरकोटको ३ किलोमिटर तल आफूहरूले धार्मिक पर्यटकीय ठाउँ बनाउन लागेको उनले बताए ।


संस्थाले प्रथमपटक स्मारिकापनि प्रकाशन गरेको र थप जानकारीका लागि स्मारिका अध्ययन गर्न उनले आग्रह गरे । ‘अगामी भदौ ४ गते बालकुमारी मन्दिरबाट ठूलोमात्रामा सवारीसाधनहरू, भक्तजनहरू र बाँजागाजासहित हामी र प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै बनाएका छौं,’ उनले भने । उनले ४ गते बिहान ८ बजे बालकुमारी मन्दिरमा भेला हुने र ९ बजे रथयात्रा सुरू हुने ११ बजे निर्माण कार्य सुरू भएको ठाउँमा पुग्ने भोजन ग्रहणपछि मात्रै औपचारिक कार्यक्रम सुरू हुने बताए। उनले अहिलेसम्म २० प्रतिशतमात्रै विकास निर्माणको काम सकिएको र भदौ ४ गते सबैलाई आउन आग्रह गरेका छन् । संस्थाका केन्द्रीय सदस्य सहदेव गौतमले हिन्दू सनातन धर्म मान्नेहरूको लागि नागपञ्चमीमा उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए। उनले सकिन्छ भने मन्दिर निर्माणकालागि सबैले योगदान गर्न आग्रह गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठले धर्मगुरू बुद्धिकुमार खड्कीले देशका लागि नै पाइला चालेको बताइन्। आफूले जतिसक्ने सहयोग गर्ने, गरेको र सबैलाई सहयोग गर्न उनले आग्रह गरिन्।
राष्ट्रिय मार्सलआर्ट खेलाडी बैकुण्ड फुयाँलले धर्म कुनै जात र भूगोलको नहुने बताउँदै धर्म बचाउन सबै एक ठाउँमा हुनुपर्ने बताए। नेपालको धर्म र इतिहास जोगाउन आफूहरूले ५४ रोपनी जग्गामा मन्दिर विस्तार गर्न लागेको उनको भनाई छ । उनले पूर्खाको धर्म बचाउन सबैलाई एक ठाउँमा आउन आग्रह गरे।


संस्थाकी केन्द्रीय सदस्य दिया खड्काले धर्मगुरू खड्कीले मन्दिर बनाउन लागेको र सबैले सहयोग गर्न आग्रह गरिन्। उनले सो कार्यका लागि ५ लाख ५ हजार ५५ रूपैयाँ सहयोग गर्ने घोषणा गरिन्। संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख अतिथि रामृष्ण कर्माचार्यले धर्म र पैसाको विषयमा विभिन्न समयमा विभिन्न टिप्पणी हुने गरेको बताए। उनले भदौ ४ गते हुने कार्यक्रममा सबैलाई आउनका लागि निम्ता गरे। निर्माण हुन लागेको १ सय ८ फिटको शिवको मूर्ति एसियाकै पहिलो भएको दाबी गर्दै उनले सो कार्यका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।


संस्थाका अध्यक्ष तथा शिवतान्त्रिक धर्मगुरू बुद्धीकुमार खड्कीले ज्ञानी नै नभइकन ज्ञानको परीभाषा बुझ्न नसकिने बताए। उनले मन्दिर निर्माणका लागि आजसम्म व्यक्तिगत १ करोड ८७ लाख खर्च गरिसकेको र त्यो रकम लेखा परीक्षणमा पनि देखाइसकेको बताए । उनले आफूहरूले सानो नभइ ठूलो काम गरिरहेको दाबी गर्दै विभिन्न ठाउँहरूमा मन्दिरहरू बनाउन सफल भएको र अहिले ठूलो लगानीमा मन्दिर निर्माण गरिरहेको बताए । एकपटक आएर हेर्न र सबैलाई सहयोग गर्न आग्रह गर्दै उनले भने,‘छ भने दान, नभए हे भगवान।’


उनले आफ्नो आधा जीवन भगवानको लागि समर्पण गरिसकेको र भगवान सबैको साझा भएको बताए । भदौ ४ गते नगरकोटमा निःशुल्क यात्रा, खानाको ब्यवस्थासहितको कार्यक्रम राखिएको र सबैलाई आउनका लागि उनले निम्ता गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा शिवतान्त्रिक धर्मगुरू बुद्धीकुमार खड्की, प्रमुख अतिथि तथा संस्थाका पूर्वअध्यक्ष रामृष्ण कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विष्णुजङ्ग बस्नेत, कोषाध्यक्ष हरि भट्ट, सदस्यहरू सुनिल श्रेष्ठ, दिया खड्का, सहदेव गौतम र राष्ट्रिय मार्सलआर्ट खेलाडी बैकुण्ड फ्युयाल, सामाजिक अभियान्ता राजेश्वरी श्रेष्ठलगायतको सहभागाति रहेको थियो।

 

 

प्रतिकृया