• ६ असोज २०८३, मंगलबार
  • ११ः२८ बिहान

कानूनका २०६ जना विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा एक साताका लागि परिचालन

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ०२:०७

२३ श्रावण २०८०, काठमाडौँ : काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजबाट ट्राफिक स्वयंसेवकका रुपमा काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा खटिएका छन् । स्कूल अफ लमा हिजो आयोजित ट्राफिक स्वयंसेवक कार्यक्रमको, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले समुद्‍घाटन गर्नु भएको थियो ।

National Life

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक नियमको व्यवहारिक प्रयोग, लेन अनुशासन पालना, मर्यादित सवारी चालक, कानुनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्यूनिकरण गर्नु नै आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले सडकमा खटिने विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकको ज्याकेट र क्याप समेत वितरण गर्नु भएको थियो ।


उक्त कार्यक्रममा काठमाडौँ स्कूल अफ ल का अध्यक्ष तथा पूर्व सचिव डा. गोबिन्द कुसुम, कार्यकारी निर्देशक प्राध्यापक डा. युवराज संग्रौला, क्याम्पस प्रमुख प्राध्यापक डा. कुमार ईङ्गनाम, कार्यमूलक शिक्षण विभागका संयोजक सह-प्राध्यापक ज्ञानु गौतम र शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण समेत दिएको थियो । आजबाट ७ दिनसम्म बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीडक र कमलादीमोडमा खटिने स्वयंसेवकहरूले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउने छन् ।


स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।


यसका साथै सडकमा खटिने ट्राफिक स्वयंसेवकहरूले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको बारेमा ट्राफिक प्रहरीलाई खबर गर्नेछन् । विगत लामो समयदेखि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र जनचेतना अभिबृद्धि गर्नका लागि ट्राफिक स्वयंसेवक परिचालित हुँदै आएका छन् । यस्तै ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि सवारी चालक, परिचालक र पैदलयात्री लक्षित विविध कार्यक्रमहरू समेत गर्दै आएको छ ।

प्रतिकृया