• २१ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

आपराधिक गतिविधिको पोल खुल्ने डरले होटल भिएना नै कब्जामा लिए दावा छिरिङले

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार १०:१२

श्रावण १७, २०८०, काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय किलो सुन तस्करीको अभियोगमा पक्राउ परेका तिब्बतीयन (चीन) मूलका बेल्जियम नागरिक दावा छिरिङले ठमेल ज्याठास्थित होटल भिएना राजनीतिक शक्तिको आडमा जवरजस्ती नियन्त्रणमा लिएको पाइएको छ । होटल भिएनाका मुख्य सञ्चालक चीन फुजाङका चेन चाइ मु र गुन पेङ जोङलाई निकालेर प्रेमिका अमला रोक्का मगर र मन्जील श्रेष्ठको नाममा दर्ता गराइएको बताइएको छ । घरधनी रत्नमान श्रेष्ठलाई होटल सञ्चालनका लागि तीन करोड रुपियाँ भाडाबापत रकम वयाना दिने ब्यक्ति चेन चाइ र गुन पेङ हुन ।

National Life

उनीहरुको रकम होटलमा खन्याइ सकेपछि आफ्नो आपराधिक गतिविधि वाहिरिने डरले दावा छिरिङले होटलबाट दुबैजना पार्टरलाई निकालेर कब्जा लिएको गुनासो पीडितहरुको छ । उनीहरुलाई नेपाल बस्न नै नदिएको पाइएको छ । हाल चीन रहेका चेन चाइ र गुन पेङले दावा छिरिङ र अमला मिलेर आफूहरुलाई विभिन्न वहानामा तर्साएर धम्क्याएर होटल कब्जामा लिएको गुनासो गरेका छन् । वीच्याट सम्पर्कमा आएका उहाँहरु दुईजना होटल सञ्चालकले नेकपा (माओवादी केन्द्र ) का नेताका छोराहरुको पनि भूमिका रहेको रहस्य खुलाएका छन् ।

दिपेश पुन र राउल महराको भूमिका शंकास्पद

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुन र पूर्वसभामुख कृष्णबहादुर महराको कान्छा छोरा राउल महराको नियमित भेटघाट तथा सम्पर्क कार्यालय र बैठक कक्षका रुपमा सो होटल प्रयोग हुँदै आएको थियो । दुइटै जनाले होटल सञ्चालनमा आफ्नो तीन करोड रुपियाँ फसेको दावी गरेका छन् । बुद्धचित्त, रुद्राक्ष र यार्चागुम्बाको ब्यापार गर्ने नाममा नेपाल छिरेका दावा छिरिङसँग अमलाको भेट गराइ दिने पात्रहरु पनि माओवादी नेताकै छोराहरु भएको पाइएको छ । यस अघि काठमाडौँ, ललितपुर र बुटवलमा अबैध कल सेण्टर सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा होटल भिएनाका सञ्चालक दावा छिरिङ, कमला रोक्का मगर र मन्जील श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी नै जारी भएको थियो ।


हाल, होटल भिएना कमला र मन्जीलको नाममा दर्ता रहेको देखिन्छ । वाहिर बोर्डमा होटल चिएना भएपनि होटल भिएना मन्जील रहेको जानकारहरु बताउछन् । काभ्रे जिल्ला प्रशासन कार्यालयबाट बंशजका आधारमा नागरिता लिएपछि दावा छिरिङ उर्फ निमा गुरुङ भएको देखिन्छ । निमा गुरुङ नामको नागरिता तथा राहदानी किर्ते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


तिब्बत चीनबाट भागेर बेल्जियम पुगेका दावा त्यहाँ पनि ठगी मुद्दामा फसेपछि भागेर भारत हुँदै नेपाल छिरेका थिए । नेपालमा जडिबुटीको ब्यापार थालेका अभियुक्त दावाले चिनियाँ लगानी कर्ता चेन चाइ र गुन पेङको पैसाले होटल खोल्न सहयोग गरेका थिए । पछि आफैले कब्जा गरेको हो । खाडी लगायत विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ नेपाल र काठमाडौँबाट स्थलमार्ग हुँदै भारतसम्म अबैध सुन सप्लाइ गर्न दावाको मुख्य हात रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।


सुन तस्करीमा १७ वर्षअघि पनि पक्राउ परेका थिए, दावा छिरिङ अभियुक्त दावा छिरिङ १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य फेला परेको छ । नेपाल प्रहरीको अभिलेखमा दावा २०६३ साल मङ्सिर २४ गते बौद्धबाट पक्राउ परेको देखिन्छ । राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब सय किलो सुन प्रकरणमा दावाको संलग्नता देखिएको भन्दै पक्राउ गरेको हो ।


अभियुक्त दावा छिरिङलाई पक्राउ गर्नुअघि सशस्त्र प्रहरी वलले होटल भिएनामा छापामार शैलीमा खानतलासी गरेको थियो । सुन तस्करी प्रकरणमा उनको संलग्नता स्पष्ट रुपमा देखिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो । उक्त होटलबाट सुनको कारोबारसमेत हुने गरेको पक्राउ परेका एक अभियुक्तले बयान दिएका थिए । सोही बयानका आधारमा पक्राउ परेका दावाको कनेक्सन भएको आधारमा उनलाई पक्राउ गरिएको हो।


नेपालमा भएका चिनियाँहरुले गरेको आपराधिक गतिविधिमा दावाको संलग्न देखिएका छ । पछिल्लो पटक २०७६ सालमा पनि उनी पक्राउ परेका थिए । अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ तथा भारतीय नागरिकलाई ठगी गरेको आरोपमा उनीसहित १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । नेपालस्थित चिनियाँ दूतावासको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन । दावा छिरिङ हुण्डी कारोवारमा समेत संलग्न रहेको पाइएको छ । नेपालमै रहेर दावाले अन्य चिनियाँ नागरिकलाई अपराध गर्न सघाउने र उनीहरुको पैसा समेत आफै लिने गरेको पाइएको छ ।


२०६३ सालमा उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनलाई बौद्धबाट पक्राउ गरी मुद्दा चलाएको अभिलेख फेला परेको हो। त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख भने फेला परेको छैन । अभियुक्त दावा छिरिङले आफूले मात्र नभइ चिनियाँ नागरिकसँग प्रतिब्यक्ति एक देखि पाँचलाख रुपियाँसम्म अशुल गरी १७ जनाको नागरिता र राहदानी बनाइ दिएको रहस्य समेत वाहिर आएको छ । सो घटनाको सम्वन्धमा छानविन गर्न चिनियाँ नागरिकले नै माग गरेका छन् ।

सुन काण्डमा को–को पक्राउ परे ?

राजस्व अनुसन्धान विभागका अनुसार एक सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । तर सुनको मालिक भने खुल्न सकेको छैन । अहिलेसम्म पक्राउ परेका नेपालीहरु भरिया मात्रै भएको बताइन्छ । दुई चिनियाँ नागरिकको हकमा भने कुनै कुरा खुलिसकेको छैन । तस्करीमा अझै केही व्यक्तिको संलग्नता खुलेको छ । पक्राउ पर्नेको संख्या अझै बढ्ने महानिर्देशक ढुंगानाले बताएका हुन ।


साउन २ गते करिब सय किलो सुन बरामद गर्दा राजस्वको टोलीले सुरुमा ५ जनालाई पक्राउ गरेको थियो । .त्यतिबेला सुन लैजाँदै गरेका ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई पक्राउ परेका थिए । त्यसको भोलिपल्ट तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका हुन । सुन तस्करीमा संलग्नहरू पक्राउ परेको थाहा पाएपछि नेपालबाट भाग्न लागेका चिनियाँ नागरिक जिक्वाङ लिन साउन ४ गते विमानस्थलबाटै पक्राउ परेका हुन ।


सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरिएको छ । साउन ७ गते भने अध्यागमन विभागका कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाललाई पक्राउ परेका थिए । त्यस्तै, तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए । साउन १० गते तस्करीमा संलग्न चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ परेका हुन् ।


राजस्व अनुसन्धान विभागले पक्राउ अभियुक्तहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र सानेपा प्रहरी प्रभागको हिरासतमा राखेर अनुसन्धान गरेको छ । राजस्व विभागले यो मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँने छ ।

प्रतिकृया