कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ खाए, दुईजनालाई मन्त्री बनाए
प्रकाशित मिति
२०८० असार २२ गते, शुक्रबार १०:२४
२२ असार २०८०, काठमाडौँ: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ खाएका छन् । बिहीबार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सो क्रममा मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन् ।
पहिलो चरणमा उनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एकजनालाई मन्त्री बनाएका हुन् । एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीप सुनार मन्त्री बनेका हुन्। तर उनीहरुको मन्त्रालय तोकिएको छैन ।
कांग्रेस प्रदेश संसदीय दलका नेता थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा बिहीबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत नै चाहिन्छ ।
थापा कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेर मुख्यमन्त्री बनेका हुन् ।
कतिपयले भने सभामुखलाई सत्ता प्राप्तिको हतियार बनाउनु असंवैधानिक भएको दाबी गर्दै आलोचना गरिरहेका छन् । यसअघि कोशीमा एमाले नेतृत्वको सरकार विश्वासको मत पाउन नसकी ढलेको थियो ।






प्रतिकृया