प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्दै
प्रकाशित मिति
२०८० असार २२ गते, शुक्रबार १०:२१
२२ असार २०८०, काठमाडौँ: प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी गरेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन् ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले राजिनामा मागेका छन्। एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक पनि चल्न दिएका छैनन् ।
एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद बैठक चल्न नदिने अडान राखेको छ । आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजिनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने एमालले जनाएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।






प्रतिकृया