आज पनि राष्ट्रिय सभा बैठक स्थगित
प्रकाशित मिति
२०८० असार २१ गते, बिहीबार ०३:२२
२१ असार २०८०, काठमाडौँ: आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरुले राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । राष्ट्रिय सभा बैठकमा एमालेले विरोध जारी गरेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिएका थिए।
सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए।
अध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरूले उभिएर विरोध जनाइरहेका थिए। अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गरेका थिए।
त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय थियो।
राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२.२९ बजे बस्नेछ।






प्रतिकृया