नेपाल सरकारका मुख्य सचिवलाई दक्षिणकाली नगरपालिकाद्वारा नागरिक अभिनन्दन
प्रकाशित मिति
२०८० असार ७ गते, बिहीबार ०३:२२
७ असार २०८०, काठमाडौँ: नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालज्युलाई दक्षिणकाली नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम संघिय सांसद माननीय राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यता, बागमती प्रदेशका माननीय मन्त्री पुकार महर्जनको विशेष आतिथ्यतामा र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । वर्तमान मुख्य सचिव अर्याल दक्षिणकाली नगरपालिका वडा नं. ७ गोपालेश्वरका हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै मेयर मोहन बस्नेतले भने, “हाम्रो नगरको व्यक्ति मुख्य सचिव जस्तो गरिमामय पदमा पुग्नुभएको छ, नगरपालिकाको आफ्नो क्षेत्रको मान्छे नेपालको मुख्य सचिव हुनुभएकोमा नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नु आफ्नो कर्तव्य भित्रकै कुरा रह्यो । दक्षिणकाली नगरपालिकाले मुख्य सचिव जस्तो गरिमामय पद पाएपछि दक्षिणकाली नगरपालिकाले पनि विकास, निर्माण र समृद्धि पाउनको लागि हामीलाई अलि सहज अनुभूति भएको छ । दक्षिणकाली नगरपालिकाको विकास निर्माणको लागि बेलाबेलामा मुख्य सचिवज्यूले दक्षिणकालीको लागि भनेर छुट्टै समय मिलाएर दक्षिणकालिकाको समृद्धिको लागि, विकास निर्माणको लागि हामी २, ३ महिनामा एकपटक बसेर दक्षिणकाली नगरपालिकाको लागि सहयोग र साथ सहयोग पाइराखेका छौं र अझ पनि भविष्यमा तिव्र गतिमा पाउने आशा राखेका छौं ।”

त्यसैगरी मुख्य सचिवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म यहाँको धरती पुत्र भएको नाताले यो भन्दा अगाडि पनि विभिन्न पदमा रहँदा दक्षिणकाली नगरपालिकालाई आफूले सकेको गरि नै राखेको छु । त्यो भन्दा पनि बढी देशकै अर्थतन्त्र सुधार देखि लिएर सबै कुरा सुधार गर्नको लागि आवश्यक पर्ने प्रधानमन्त्री लगायत मन्त्रीज्यूलाई सल्लाह सुझाव दिने त छँदैछ । त्यति माात्रै नभएर दक्षिणकाली नगरपालिकाको नागरिक अभिनन्दले मलाई एउटा कुरा के झस्कायो भने दक्षिणकाली विकास निर्माणको लागि पनि मैले समय बचाएर दक्षिणकाली नगरपालिकासँग समन्वय गरेर दक्षिणकाली नगरपालिकाको विकास, निर्माण र समृद्धिको यात्रामा मैले जानेको दक्षता, क्षमता के के हुन्छ त्यो म कम्तीमा पनि २ महिनाको एक पटक विदाको दिन समय मिलाएर मैले दक्षिणकालीको लागि गर्नेछु र अझ बढी गर्दछु । यो पवित्र भूमिमा जन्मेको म अहिले मुलुकको मुख्य सचिव हुन पाएँ, यसमा मलाई दक्षिणकाली माता लगायत यहाँको शक्तिपीठको आशिर्वाद छ । यहाँको समृद्धि र विकास निर्माणको लागि मबाट हुन सक्ने सहयोग हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

कार्यक्रममा मुख्य सचिवलाई कदरपत्र पनि प्रदान गरिएको थियो । कदर पत्रमा भनिएको छ, “करिब ३० वर्ष लामो समयसम्म तपाईंले नेपालको निजामती सेवाका विभिन्न पदमा रही मुलुकलाई अटुट सेवा प्रदान गर्ने कार्यमा कर्मठ, इमान्दार र कर्तव्यनिष्ठ राष्ट्र सेवकको भूमिका निर्वाह गर्नुभई मुलुक र मुलुकवासीहरुमा पु-याउनुभएको योगदानको उच्च कदर गर्दै आम दक्षिणकाली नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गर्दछौं ।”
उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिकाका सबै जनप्रतिनिधि, पूर्व प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु कर्मचारी, उपमेयर बसन्ती तामाङ डंगोल, प्रवक्ता अम्रिका बलामी, मुख्य प्रशासकीय अधिकृत मधु अर्याल खनाल, वरिष्ठ शाखा अधिकृत दिपक कुमा केसी लगायतका व्यक्तिहरुको संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।









प्रतिकृया