• १२ असोज २०८३, सोमबार
  • ७ः२१ बिहान

आम निर्वाचन : देशभर मतदान सुरु

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०७:२७

४ मंसिर २०७९, काठमाडौँ : लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश भर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

National Life

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।


एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी खटिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।


यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।


निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार दुई सय सात र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार दुई सय १९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ ।


मतदान सकिएलगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ । पहिलो चरणमा प्रतिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ ।

प्रतिकृया