नेपालको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि हुँदै,विश्वकै शक्तिशाली मुलुक बनाउने लक्ष्य
प्रकाशित मिति
२०७९ श्रावण ३ गते, मंगलवार ०४:१९
३ साउन २०७९, काठमाडौंः जनसमाजवादी पार्टी, नेपालले भोलिदेखि ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन गर्दैछ। आज ९मंगलबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन ४ र ५ गते हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो। भोलि बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोह हुने पार्टीले जनाएको छ। र, भोलि नै बन्दसत्र शिखर पार्टी प्यालेस, कलंकी, काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकहरु रहने जनाइएको छ।पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुवासराज काफ्लेले भोलिदेखि सुरु हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाउँदै सम्मेलनमार्फत देशको अहिलेको समस्याको समाधान खोजिने स्पष्ट पारे। उनले विश्वमा नेपाल गरिब, अशिक्षित, अविकसित र पिछडिएको अवस्थामा चिनिएको उल्लेख गर्दै आफ्नो पार्टीको उद्देश्य भनेको नै नेपाललाई शक्तिशाली, समृद्ध, विकसित र वौद्धिक मुलुकको रुपमा चिनाउने रहेको सुनाए।

उनले भने,‘अब यही हालतमा देशलाई छाडियो भने अब आउने सन्ततीले पनि यो देशको दुर्दशालाई भोग्नुपर्छ।अहिलेको विधिलाई अन्त्य गर्दै देशमा नयाँ पद्धती बसाउने र विश्वमा नेपाललाई शक्तिशाली मुलुकको रुपमा चिनाउने हाम्रो पार्टीको मुख्य लक्ष्य हो।’ उनले देश बलियो बनाउने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको सुनाए । काफ्लेले पार्टीको दोस्रो सम्मेलन देशमा देखिएका ज्वलन्त समस्याको देशमुखी समाधान खोज्न सफल हुनेमा आफु विश्वस्त रहेको बताए।उनले आफ्नो पार्टीको नयाँ निर्वाचित हुने नेतृत्व देशको मात्र नभई विश्वकै नेतृत्व गर्न सफल हुनेमा आफु आशावादी रहेको बताए ।

पार्टीका उपाध्यक्ष हरिबहादुर बोहोराले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले ठूलो उपलब्धि हाँसिल गर्ने विश्वास दिलाए । उनले सत्तासिन राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । बोहोराले भोलिदेखि हुने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा सत्तामा बसेको राजनीतिक दलहरुले गरेको सत्ताको दुरुपयोग, स्थानीय चुनावमा गरेका क्रियाकलापको बारेमा छलफल गरिने पनि जनाए ।
उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए । उनले पुराना दलहरुको बिचमा नयाँ दलहरुलाई जनतामाझ जनवादी राज्यसत्ताको अभ्यासको रुपमा लिन खोजेको दाबी गरे । त्यसैको आधारमा आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा सबै कुरा सार्वजनिक गर्ने र चुनावबारे रणनीति बनाएर अगाडी बढ्ने संकल्प गरिने पनि उनको भनाई छ ।




प्रतिकृया