नारायणहिटी सङ्ग्रहालयभित्र कफी हाउस खोल्न दिने निर्णय मैले गरेको होइन : योगेश भट्टराई
प्रकाशित मिति
२०७८ पुष २१ गते, बुधबार ०८:०१
२१ पुस २०७८, काठमाडौँ : तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको बताएका छन्। नेकपा एकीकृत समाजवादीका नेताकार्यकर्तासहितले भट्टराईको पालामा उक्त निर्णय भएको आरोप लगाएका थिए। जवाफमा उनले आफू पर्यटनमन्त्री हुनुभन्दा पहिले नै दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नारायणहिटी दरबार सङ्ग्रहालयबारे सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु।’ उनले लेखेका छन्- ‘त्यसबारेको कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु। आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वतस् स्पस्ट छ।’
उनले बिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध पनि गरेका छन्। ‘मेरो संलग्नता रहेको भए सत्यतथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु। म मन्त्री हुनुपूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो,’ उनले लेखेका छन्।
नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी हाउससहितको रेष्टुराँ चलाउन लागेपछि त्यसको चर्को विरोध भएको थियो। पर्यटनमन्त्री प्रेम आलेले उक्त कफी हाउस चलाउन नदिन मौखिक निर्देशन दिइसकेका छन्।









प्रतिकृया