धानमा लागेको आगो घरमा सल्किँदा एक बालिकाको मृत्यु, एक बालक घाइते
प्रकाशित मिति
२०७८ पुष ६ गते, मंगलवार ०८:२६
६ पुस २०७८ काठमाडौँ : रौतहटमा मंगलबार दिउँसो थुपारेर राखिएको धानमा लागेको आगो घरमा सल्किँदा एक बालिकाको मृत्यु भएको छ। आगलागीबाट एक बालक घाइते भएका छन्। रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बरगिनियाँमा भएको आगलागीमा परी सोही स्थानका जोकु राय यादवकी ३ वर्षीया छोरी अराध्या कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगोमा जलेर सोही स्थानका सञ्जिव साहका २ वर्षीय छोरा रोहित साह गम्भीर घाइते भएका छन्। उनको उपचारको लागि वीरगञ्ज ल्याइएको छ। काटेर थुपारिराखेको धान नजिकै बालबालिकाले आगो सल्काइ खेल्ने क्रममा आगो मदन यादवको घरमा समेत सल्किएको थियो। आगलागीबाट यादवको फुसको घर र एक विगाहाको धान जलेर नष्ट भएको छ।
आगलागीलाई वारुणयन्त्र, स्थानीय, सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए।






प्रतिकृया