पहिलो पटक रोजगार सम्मेलन गर्दै सरकार
प्रकाशित मिति
२०७६ असार १४ गते, शनिबार ०७:३८
काठमाडौं, सरकारले पहिलो पटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ । यही असार १५ र १६ गते राजधानीमा हुनेछ । श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले ‘आन्तरिक रोजगारीको प्रवद्र्धन नै सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनु भयो । सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ ।
सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । सम्मेलनको पहिलो दिन श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकन, श्रम आप्रवासन तथा विदेशबाट फर्किएकाको पुनःएकीकरण तथा कामको भविष्यका बारेमा प्रस्तुति तथा छलफल हुनेछ । त्यसैगरी दोस्रो दिन नेपाली श्रम बजार र आय स्थितिको सिँहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता र राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीका लागि सीप विकास विषयमा प्रस्तुति तथा छलफल हुनेछ ।
सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, विषयगत मन्त्रालयका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विषय विज्ञ, प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानकर्ता, रोजगारदता, तालीम प्रदायक संस्था, नमूना उद्यमी, सहकारी क्षेत्र, मजदूर सँगसङ्गठनका प्रतिनिधिलगातयको सहभागिता रहनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।






प्रतिकृया