• २० असोज २०८३, मंगलबार
  • ३ः३३ राती

एमाले महाधिवेशन उद्घाटनको दिन गाडी नचलाउन चितवन प्रशासनको अनुरोध

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार १०:४४

८ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोहको दिन सकेसम्म नारायणगढको मुख्य बजार क्षेत्रभित्र गाडी नचलाइदिन चितवन प्रशासनले अनुरोध गरेको छ । एमालेको उक्त महाधिबेशन मंसिर १० गते हुँदैछ ।

National Life

नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुने अनुमान भएकाले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन चितवन प्रशासनले उक्त अनुरोध गरेको हो ।


‘भिडभाडको व्यवस्थापन र मानवीय सुरक्षा प्रमुख चुनौती छ । त्यसैले त्यो दिन सकेसम्म गाडीहरु नचलाइदिनू भनेर अनुरोध गरेका छौं,’ प्रजिअ तामाङले भने, ‘त्यो दिन १० बजेपछि पश्चिमबाट आउने गाडीहरुलाई नारायणी पुलबाट क्रस गर्न हामी दिन्नौं । पूर्वी नेपालबाट आउने गाडीहरुलाई जिल्ला प्रशासन कार्यालय चोकबाट पश्चिम छिर्न दिन्नौं ।’ पश्चिम चितवनबाट आउने गाडीहरु भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिनुपर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अवधिभर सार्वजनिक तथा निजी गाडीहरुलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।


नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ । यो दिन मानिसहरुको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सन्चालनमै रोक लगाउने निर्णय गरेको हो ।


प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरुलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरुलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिएका छन् ।


यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरुलाई आँपटारी र पूर्वबाट आउने गाडीहरुलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आवत जावत गर्नेहरुले आँपटारी(बाइपास रोड) हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।


नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरुको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरुले प्रमुख चुनौती मानेका छन् । भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरिएको प्रजिअ तामाङको भनाइ छ । त्यो दिन सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न वा समय मिलाएर गाडीहरु छाड्न छिमेकी जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भनिएको चितवनका प्रजिअ तामाङले बताएका छन्।


महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।

प्रतिकृया