‘सूर्यवंशी’ले दिएको सन्देशः ‘दर्शक आउँछन्, तर फिल्म राम्रो हुनुपर्छ’
प्रकाशित मिति
२०७८ कार्तिक २१ गते, आईतवार ०१:०३
२१ कार्तिक, २०७८ काठमाडौँ : यो बर्षको दशैंमा नेपाली निर्माताले चलचित्र रिलिज गर्न डराए । चलचित्र संघ र चलचित्र विकास बोर्डले दिएको विभिन्न सुविधालाई समेत वास्ता नगरी उनीहरु करोडौंको लगानी जोखिममा नपार्ने अडानमा बसे । अर्थात, कोरोनापछि दर्शक ओटीटी प्लेटफर्ममा आकर्षित भएको, हल जान डराएको लगायतका तर्क पेश गर्दै निर्माताहरु खुम्चिएरै बसे । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वर पीपल’ रिलिज गरेपनि त्यो बक्स अफिसमा लागि पर्याप्त बनेन ।
अरु, बेलामा हिन्दी चलचित्रले नेपाली चलचित्रमाथि थिचोमिचो गर्यो भनेर चर्को बोली बोलेपनि यसपटक सबैजसो निर्माता हिन्दी चलचित्रकै आशमा बसे । तिहारमा रोहित सेट्टीको निर्देशनमा बनेको चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तानिदियो भने बल्ल हामी पनि रिलिज गर्छौ भन्ने सोचमा देखिए निर्माता । यसैले, अबका दिनमा नेपाली चलचित्रमाथि हिन्दी चलचित्रको थिचोमिथो भयो भनेर कराउने छुट नेपाली निर्मातालाई छैन ।
शुक्रबारदेखि रिलिज भएको हिन्दी चलचित्र ‘सूर्यवंशी’ भारतमा मात्र होइन, नेपालमा पनि सुखद कमाई गर्यो । दर्शक हलसम्म आउँछन् कि आँउदैनन् होला भनेर आँखा सोझ्याएका निर्माताले बल्ल चेत पाए कि, राम्रो चलचित्र बनाउन सके त दर्शक आउने रहेछन् । ‘सूर्यवंशी’ हेर्न हलमा देखिएको भीडले दर्शक हलसम्म आउँछन् भन्ने सन्देश स्पष्ट रुपमा देखिएको छ ।
तर, दर्शक हलसम् यति सजिलै भने आउँदैनन् । दर्शकलाई अब कोरोनासँग भन्दा नेपाली चलचित्रको कथावस्तुसँग बढी डर छ । किनकी, चलचित्र उत्कृष्ट बनेन, त्यसको प्रचार सही तरिकाले गरिएन भने दर्शक आउँदैनन् । ‘सूर्यवंशी’को क्रेज, कलाकारको स्टारडम, मार्केटिङको तरिकाले दर्शकलाई हलसम्म तान्न मद्दत गरेको हो । चलचित्र हेरिसकेपछि दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले पनि दर्शकको उपस्थिती बाक्लिन थालेको हो । अब, दर्शक हलसम्म आउँदैनन् कि भनेर नेपाली निर्माता डराउन पर्दैन । तर, मेकरलाई आफ्नो चलचित्रमाथि आत्मविश्वास भने हुनुपर्छ ।








प्रतिकृया