• १९ असोज २०८३, सोमबार
  • ४ः३४ बेलुका

दसैँका लागि जुट्यो जनकपुर

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०५:४४

२१ असोज, २०७८ काठमाडौँ : बडा दसैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा भएको छ। बडादसैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठ सजाइएको हो। स्थानीय युवा क्लब दसैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दसैँमा पूजाअर्चनाको तयारी गरिरहेका छन्।

National Life

राममन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य सुरु भइसकेको छ। राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र झिलिमिली बत्ती जडान गर्ने कार्य करिब पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ।


पण्डाल, बत्तीलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। मन्दिरका मूलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रूपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधिअनुसार पूजा गरिने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुने गरिएकै कारण दसैँभर महिलालाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताए। मूल पुरोहित झाले भने, ‘मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाका साथै तान्त्रिक विधिअनुसार समेत पूजा गरिन्छ, मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुने गरिएकै कारण दसैँभर महिलालाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ।’


त्यस्तै, घटस्थापनादेखि सुरु हुने पूजाअर्चना विजयादशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दसैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्यालगायत कार्यक्रम गरिने जानकारी दिए। उनले स्थानीय रामानन्द युवा क्लब हरेक वर्षझैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिए।


जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौललगायत क्षेत्रका युवा क्लब पनि दसैंको तयारीमा जुटेका छन्। अन्य दिन चाँडै बन्द हुने जनकपुर दसैँ सुरु भएपछि राति अबेरसम्म खुला रहने गर्छ । धार्मिक स्थलमा हुने भजनकीर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ ।


प्रतिकृया