• १९ असोज २०८३, सोमबार
  • ८ः५० राती

चीनबाट आयात नहुँदा महँगियो च्याङ्ग्रा

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०४:००

१७ असोज, २०७८ काठमाडौँ : हिन्दु नेपालीहरुको महान् पर्व दसैँमा बली दिने प्रचलन रहिआएको छ। दसैँमा विशेषगरी च्याङ्ग्रा तथा बोकाको बली हानिन्छ। दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। उनका अनुसार नेपालमा उत्पादन कम र उपभोक्ता बढी भएकाले महँगी बढेको हो।

National Life

उनले भने, ‘दसैँ नजिकिँदै गर्दा च्याङ्ग्राको भाउ भन्नै नमिल्ने तरिकाले महँगिएको छ। मुख्य कुरा दसैँमा बली हान्ने प्रचलन रहिआएको र यो वर्षको एक चोटी मात्र आयात हुने भएकाले मान्छेहरु च्याङ्ग्रातिर आर्कषित भएका हुन्। र मुस्ताङमा नै च्याङ्ग्रा कम उत्पादन भएको छ। जसका कारणले महँगो परेको छ। उत्पादन कम भयो खाने मान्छे धेरै भयो। महँगी त बढ्छ नि।’


च्याङ्ग्रा वर्षको एक पटक मात्र आयात हुन्छ। त्यो पनि चीनबाट। तर यसपाली केरुङ नाका बन्द हुँदा च्याङ्ग्रा आयात पनि हुन नसकेको अध्यक्ष खत्रीले बताए। नेपालमा न्यून उत्पादन हुने भएकाले च्याङ्ग्रा चीनबाट आयात गरिने उनले बताए। तर यसपाली च्याङ्ग्रा चीनमै बढी खपत भइरहेको पनि उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

‘च्याङ्ग्रा भित्रिने मुख्य नाका नै बन्द छ। जब चाइनाबाट धेरै च्याङ्ग्रा आउँथ्यो। त्यो बेला सस्तो हुन्थ्यो। अहिले नेपालमा उत्पादन पनि कम छ’, उनले भने, ‘जसका कारणले च्याङ्ग्रा छोइनसक्नु छ। अहिले च्याङग्राको मासु प्रतिकेजी १३ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ। यसपालीको दसैँमा ३ हजारदेखि ४ हजार च्याङग्रा भित्रिन्छ।’


अहिले एउटा च्याङ्ग्राको मूल्य ३७/३८ हजार रुपैयाँमासम्म पर्ने अध्यक्ष खत्रीले बताए। ‘पहिले २७/२८ हजारमा पाइन्थ्यो’, उनले भने। च्याङ्ग्रा धनाड्य व्यक्तिहरु माझमा लोकप्रिय बन्दै गएका कारण पनि महँगो भएको अध्यक्ष खत्रीको भनाइ छ। करिब २७/२८ वर्षअघि च्याङ्ग्राको मूल्य मात्र चाररपाँच सय रुपैयाँ रहेको उनले बताए। ‘२७/२८ वर्षअघि च्याङग्रा तथा भेडा गरिब तथा न्यून आय भएका मान्छेले खान्थे’, अध्यक्ष खत्रीले भने, ‘अहिले त धनी वर्गहरुको रोजाइ बनेको छ। तर उत्पादन नै कम छ।’


काठमाडौँ उपत्यकासँगै पोखरामा पनि च्याङ्ग्राको खपत धेरै हुने गरेको अध्यक्ष खत्रीले बताए। दसैँमा काठमाडौँ उपत्यकामा मात्र करिब ८ हजार च्याङग्रा खपत हुने गरेको पनि अध्यक्ष खत्रीले बताए। तर यसपाली खपत कम हुने उनको आँकलन छ। ‘पोहोर काठमाडौँ उपत्यकामा ८ हजार च्याङ्ग्रा आयात भएको थियो। यसपाली आधाजति पनि आयात हुन्छ कि, आयात हुने नाका पनि बन्द छ र उत्पादन पनि कम छ,’ उनले भने।


यस्तै च्याङ्ग्रासँगै दसैँमा खसी–बोकाको पनि माग बढी हुन्छ। दसैँका अवसरमा बली हान्नेदेखि घर–घरमा मासुका परिकार पनि च्याङ्ग्रा, खसी तथा बोकाकै पाक्छ। खसी–बोका नेपालमै ६० प्रतिशत उत्पादन हुने भएकाले च्याङ्ग्राजस्तो अभाव नहुने अध्यक्ष खत्रीको भनाइ छ। बाँकी ४० प्रतिशत भने भारतबाट आयात हुने उनले बताए।


उनले भने, ‘खसी–बोका करिब ६० प्रतिशत नेपालमै उत्पादन हुन्छ। अपुग चाहीँ भारतबाट ल्याउनु पर्छ। नेपालमै खसी–बोकाको उत्पादन राम्रो हुने भएकाले अपुग मात्र भारतबाट आयात गर्नुपर्छ।’ उनका अनुसार हरेक वर्ष दसैँ–तिहारमा ४५/५० हजार खसी–बोका आयात गर्दै आएका छौँ। तर यसवर्ष भने कति खपत हुन्छ भन्ने यकिन नभएको पनि उनले जानकारी दिए। ‘अहिले कस्तो छ भने भारतबाट आयात भयो भने कोटा पुग्छ’, उनले भने, ‘आयात भएन भने अलि गाह्रै छ।’

प्रतिकृया