• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

नेकपा (एकीकृत समाजवादी) को भक्तपुर जिल्ला पार्टी कार्यालय स्थापना

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०३:५१

१७ असोज २०७८ भक्तपुर: नेकपा (एकीकृत समाजवादी) पार्टी भक्तपुरले पार्टी कार्यालय स्थापना गरेको छ । नेता माधव कुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको भक्तपुर जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको हो । शनिवार पार्टीका महासचिव डा. बेदुराम भुसालले सूर्यविनायकको पाण्डुबजारस्थित पार्टी कार्यालय औपचारिक उद्घाटन गरेका हुन।

National Life

उद्घाटनपछि आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले एमाले अब पार्टी नभएर ओेलीको गुटमात्र भएको बताए। ‘एमाले पार्टी होइन, ओेलीको गुट मात्र हो’ उनले भने।


नीतिअनुसार नेता चल्नु पर्ने एमालेमा नेतावादी नीति मौलाउँदै गएको भन्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गरे। नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउनका लागि केपी ओेली प्रवृत्तिको अन्त्यको आवश्यकता रहेको भुसालले जोड दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेकपा एमाले बनाउन ठूलो मिहिनेत गरेको सम्झना गर्दै नवौं महाधिवेशनबाट चयन भएको ओेली नेतृत्वले कम्युनिस्ट लाइन छाडेको आरोप लगाए । उनले कम्युनिस्ट पार्टीको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिँदै केपी ओेलीले नेतृत्व गरेको पार्टीमा हराउँदै गएपछि नेकपा (एकिकृत समाजवादी) को उदय भएको बताए। उनले ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सर्वभौमसत्तामाथि हमला गरेको भन्दै ओलीले सिद्धान्त समेत त्यागेको आरोप लगाए।


नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय नेता डा.राजेन्द्र मान श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको बाटोमा डोर्‍याएको बताए । एमालेभित्र दक्षिणपन्थी अवसरवाद हावी गराएको आरोप लगाए । कम्युनिस्ट आन्दोलनलाई सार्थक र रक्षा गर्नको लागि आफूहरूले नयाँ पार्टी खोल्नुपरेको उनले दाबी गरे ।



कार्यक्रमका अध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेको बताए। बस्नेतले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको समेत जानकारी दिए । पार्टीको भक्तपुर समिति गठन भएसँगै वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिँदै सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताए।

प्रतिकृया