वडा अधिवेश सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ- नगर अधिवेशन सुरु
प्रकाशित मिति
२०७८ आश्विन ९ गते, शनिबार १०:०७
९ असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए ।
काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । काँग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ ।
काठमाडौँको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले बताए ।
ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ। काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीच विवाद हुँदा हुँदै पालिका अधिवेशन विवादमा छ । जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन्।
निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले पालिका अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए। निर्वाचन समिति वा केन्द्रीय समितिले स्थगित गरे मात्रै अधिवेशन रोकिने भएकाले आचार्यले स्थगित गर्न खोजेर काभ्रेको पालिका अधिवेशन नरोकिने भएको छ। निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठ करिब ६० जिल्लामा आजै अधिवेशन सुरु हुने बताए ।








प्रतिकृया