पृथ्वी परिक्रमा गर्न थाल्यो नेपाली भू–उपग्रह
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार ०७:३२
नेपाली भू–उपग्रह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जाक्साबाट ‘गो’ भनेपछि अन्तरिक्षमा रहेको नेपाली झन्डासहितको स्याटेलाइटले पृथ्वीको परिक्रमा लगाउन सुरु गरेको छ ।
नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ पृथ्वीको कक्षमा छाडिएको हो । गत ५ जेठमा अन्तरिक्ष कक्षमा डकिङ भएको नेपाली झन्डासहितको स्याटेलाइट सोमबार अपराह्न ४ बजेर १९ मिनेटमा छाडिएको हो ।
नेपाली स्याटेलाइटले पृथ्वीलाई परिक्रमा गर्न थालेको छ । स्याटेलाइट प्रक्षेपणका लागि नास्टको टोलीसहित प्रविधिमन्त्री पोखरेल जापान पुगनु भएको थियो ।
मन्त्री पोखरेलले भू–उपग्रह मा संलग्न सबैलाई धन्यवाद दिदै सानो आकारको भू–उपग्रह भए पनि अन्तरिक्षमा नेपालले उपस्थिति जनाउनु नै महत्वपूर्ण भएको बताउनुभयो ।
नेपालसहित श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि अन्तरिक्षबाट सँगै छाडिएको छ ।
भू–उपग्रहले पृथ्वीको परिक्रमा गर्न थालिसके पनि त्यसबाट प्राप्त हुने तथ्यांक संकलन गर्ने ग्राउन्ड स्टेसन भने अझै बनेको छैन । नेपाली उपग्रहले काम गरिरहेको पहिलो सूचना नै भुटान र जापानमा रहेका ग्राउन्ड स्टेसनबाट क्याप्चर गरिएको छ । सोमबार नास्ट परिसरमा भू–उपग्रह डिप्लोईको प्रत्यक्ष अवलोकन गर्न बसेका सञ्चारकर्मी र वैज्ञानिकले ग्राउन्ड स्टेसन तयार नहुँदा तुरुन्तै उपग्रहले काम गरे/नगरे पत्तो पाएका थिएनन ।





प्रतिकृया