• १६ असोज २०८३, शुक्रबार
  • ४ः१७ बिहान

निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिनेको सङ्ख्या बढ्दै

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०५:३७

काठमाडौँ : टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको सङ्ख्या बढ्न थालेको छ। निषेधाज्ञा खुकुलो भएसँगै यो साता दैनिक ४० देखि ५० वटा सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन आइरहेको केन्द्रले जनाएको छ। हालसम्म यहाँबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीसाधनको सङ्ख्या छ हजार पुगेको केन्द्रका प्रमुख मणिराम भुषालले बताए।

National Life

उनका अनुसार नयाँ र पुरानो दुबै सवारीसाधनमा नम्बर प्लेट लिन सवारी धनी आइरहेका छन्। केन्द्रबाट वितरण भइरहे पनि त्यसको व्यवस्थापनको काम यातायात व्यवस्था विभागबाटै भइरहेको छ। नयाँ दर्ता भएका सवारीसाधनमा रातो नगरी एकै पटक इम्बोस्ड लिनेको सङ्ख्या बढ्दै गइरहेको उनले बताए।


उनले भने, “सरकारले यसलाई सबै सवारीसाधनमा अनिवार्य गर्न सक्ने भन्दै नयाँ किन्ने सोझै इम्बोस्ड नै लिन थालेका हुन्।” केन्द्रमा इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेकोमा यसका लागि विभागले छुट्टै जनशक्ति पठाएको केन्द्रले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एक जना ओभरसियर केन्द्रको भए पनि बाँकी छ कर्मचारी विभागले पठाएको छ। मेकानिकल इञ्जिनीयर दुई, कम्युटरमा दुई, बायोमेटिक्स दुई र स्टोरमा एक जना कर्मचारी रहेका छन्। त्यहाँ कार्यरत कर्मचारीले मेकानिक इञ्जिनीयरको सङ्ख्या कम भएको भन्दै चार जना हुनुपर्ने माग गरेको प्रमुख भुषालले बताए।


अहिले दुई कर्मचारीले गर्न भ्याइनभ्याइ भइरहेको छ । एक जना बिदामा हुँदा समस्या थपिने गरेको उनले बताए। अहिले केन्द्रले जनशक्तिका आधारमा दैनिक ५० वटासम्म नम्बर प्लेट वितरण गर्नसक्छ । उनले भने, “अहिले मेकानिकल इञ्जिनीयर चार पुर्याउँदा दिनमा ९० सवारीसाधनलाई नम्बर प्लेट दिन सकिन्छ।”


सरकारले केही वर्ष पहिले नै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट सुरु गर्ने निर्णय गरेको थियो। नम्बर प्लेट वितरणका विषयमा अदालतमा मुद्दा रहेकाले केही वर्षसम्म अघि बढ्न सकेको थिएन। गत वर्ष साउनदेखि नम्बर प्लेट वितरण सुरु गरिएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्तरुपमा यसको शुरुवात गरेका थिए।


यातायात विभागले गत आवमा सबै सरकारी सवारीसाधनमा अनिवार्य गर्ने निर्णय गरेको थियो । अझै पनि सबै सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लिइसकेका छैनन्। सरकारले अझैसम्म अनिवार्य नगरेका कारण अहिलेसम्म पनि इम्बोस्ड लिने सवारीसाधनको सङ्ख्या कम छ।


सरकारले फरकफरक किसिमका सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन फरक कार्यालय तोकेको छ। सरकारी सवारीसाधनका लागि बानेश्वरस्थित विभागको कार्यालय, निजी चारपाङ्ग्रे सवारीसाधनका लागि टेकुस्थित केन्द्र, दुई पाङ्ग्रे सवारीसाधनका लागि सतुङ्गलस्थित यातायात व्यवस्था कार्यालय र सार्वजनिक सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय तोकिएको छ।रासस

प्रतिकृया