• ३२ साउन २०८३, सोमबार
  • १०:३९ बिहान

भदौमा पनि बैंकको ब्याजदर घट्यो, ५ बैंकले गरे कटौती

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०९:००

१ भदौ २०८३ काठमाडौं – वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जुन आजदेखि लागू भएको हो।

साउनको तुलनामा भदौमा व्यक्तिगत तथा संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन् भने १५ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

Kamana Sewa

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशतले ब्याजदर घटाएको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर कटौती गरेको छ।

Classic Tech Desktop

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले ब्याजदर घटाएका छन्। यी तीनवटै बैंकले संस्थागततर्फ भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिने भएका छन्। दुवै बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।

यता, व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र सिद्धार्थ बैंकले तोकेका छन्। यी दुवै बैंकमा ग्राहकले अधिकतम ३.७६ प्रतिशत ब्याज पाउनेछन्। संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत ब्याजदर तोकेका छन्।

त्यसैगरी, प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।

प्रतिकृया