रास्वपामाथि एमाले महासचिव पोखरेलको टिप्पणी, चुनावअघि र पछि फरक कुरा गरेर पपुलिजम देखायो
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार १२:२४
२२ असार २०८३ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूले चुनावअघि र चुनावपछि फरक–फरक अभिव्यक्ति दिएको भन्दै ‘सस्तो लोकप्रियतावाद (पपुलिजम)’ को उदाहरण प्रस्तुत गरेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले चुनावका बेला प्रधानमन्त्री बालेन्द्र शाहले ‘गोजीमा पैसा नभएका जनताले पनि शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ, यही हाम्रो एजेन्डा हो’ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै हाल अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘३५ सय रुपैयाँ बीमा शुल्क लिएर एक लाख रुपैयाँसम्मको उपचार गराउन सम्भव छैन’ भनेको टिप्पणी उद्धृत गरेका छन्।

यी दुई अभिव्यक्तिलाई तुलना गर्दै पोखरेलले रास्वपाले चुनावअघि र सत्तामा पुगेपछि फरक धारणा सार्वजनिक गरेको दाबी गरेका छन्। उनले वर्तमान सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर तल्लो तहका नागरिकमाथि थप भार पारेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्। ‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि ?’ पोखरेलले फेसबुकमा लेखेका छन्।

जनभावनाविपरीतका निर्णयको विरोध भइरहेका बेला पनि प्रधानमन्त्री बालेन्द्र शाहले ‘ढुक्क हुनुस्, देश बन्छ’ भन्दै प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै पोखरेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।




प्रतिकृया