भारत भ्रमणबाट फर्किएपछि प्रेससँग बोल्छु भन्दै लामिछाने भारत प्रस्थान
प्रकाशित मिति
२०८३ जेष्ठ १८ गते, सोमबार ०१:१६
१८ जेठ २०८३ काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ। सभापति लामिछानेसँगै उनकी पत्नी निकिता, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य आज भारत प्रस्थान गरेका हुन्। रास्वपाले आइतबार राति विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएको हो।

पार्टीका अनुसार टोली जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछ। भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। सभापति लामिछानेले भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतृत्वसँग छलफल गर्नेछन्। साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै, व्यक्तिगत भ्रमणका रूपमा अयोध्या जाने कार्यक्रम पनि रहेको बताइएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रतिनिधिमण्डलको उच्चस्तरीय भेटघाट र अन्य कार्यक्रमका लागि आवश्यक समन्वय गरिरहेको जानकारी दिइएको छ।

रास्वपाको विज्ञप्ति सार्वजनिक हुनुअघि नै भारतीय जनता पार्टीले पनि लामिछानेको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो। भाजपाका अनुसार भ्रमणका क्रममा प्रतिनिधिमण्डलले पार्टी अध्यक्ष तथा वरिष्ठ नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।




प्रतिकृया