स्वास्थ्य मन्त्रालयअन्तर्गत उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन सुरु
प्रकाशित मिति
२०८३ जेष्ठ १२ गते, मंगलवार ०२:०८
काठमाडौं । सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मातहतका सम्पूर्ण विभाग, प्रतिष्ठान तथा अस्पतालहरूलाई सम्बन्धित कर्मचारीहरूको व्यक्तिगत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

सम्पत्ति छानबिन आयोगको पत्रअनुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै बहालवाला तथा अवकाशप्राप्त उच्च तहका कर्मचारीहरूको विवरण संकलन गर्न थालेको जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ को चैत मसान्तसम्म कार्यरत तथा अवकाशप्राप्त केही उच्च अधिकारीहरू छानबिनको दायरामा पर्नेछन् ।

छानबिनमा सहसचिव वा सोसरह तथा त्यसभन्दा माथिका अधिकारी, कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कर्मचारी तथा २०४८ सालअघि सेवा प्रवेश गरी २०६२/६३ पछि अवकाशप्राप्त कर्मचारीहरू समेटिएका छन् ।
सम्पत्ति विवरण संकलन, छानबिन तथा प्रतिवेदन तयारीका लागि सम्बन्धित कर्मचारीहरूको नाम, स्थायी ठेगाना, टेलिफोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना माग गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आवश्यक विवरण समयमै उपलब्ध गराई छानबिन प्रक्रियामा सहयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।




प्रतिकृया