गोरखा मिडिया नेटवर्कलाई महानगरको १५ दिने अन्तिम चेतावनी, सामान लिलाम गरिने
प्रकाशित मिति
२०८३ जेष्ठ १२ गते, मंगलवार १०:४४
१२ जेठ २०८३ काठमाडौं – गोरखा मिडिया नेटवर्क का नाममा काठमाडौं महानगरपालिका ले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ।काठमाडौं महानगरपालिका–३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राई विरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा महानगरको न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने फैसला गरेको थियो।

न्यायिक समितिले २०८१ कात्तिक १४ गते बहाल रकम र बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने निर्णय सुनाएको थियो। उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटन ले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ। त्यसपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै घरधनी मिश्रले गत वैशाख २१ गते निवेदन दिएका थिए।

महानगरपालिकाले जारी गरेको सूचनामा १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम तिर्न र Galaxy 4K Television सँग सम्बन्धित सरसामान लैजान आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सामान नलगिए काठमाडौं महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन, २०७५ अनुसार सामान लिलाम गरिने चेतावनी समेत दिइएको छ।




प्रतिकृया