प्रदेशगत कुल गार्हस्थ्य उत्पादन सार्वजनिक, कुन प्रदेशको अर्थतन्त्र कति बलियो ?
प्रकाशित मिति
२०८३ जेष्ठ ७ गते, बिहीबार ०९:४२
७ जेठ २०८३ काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालय ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशगत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । संघीय शासन प्रणाली लागू भएपछि प्रदेशस्तरमा आर्थिक गतिविधिको मापन तथा आर्थिक असमानता न्यूनीकरणलाई लक्षित गर्दै प्रदेशगत जीडीपीको अनुमान सार्वजनिक गर्न थालिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार बागमती प्रदेश को योगदान राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा धेरै ३६.७ प्रतिशत रहने अनुमान गरिएको छ । बागमतीको अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । त्यसपछि कोशी प्रदेश को योगदान १५.८ प्रतिशत, लुम्बिनी प्रदेश को १४.२ प्रतिशत तथा मधेश प्रदेश को १३.१ प्रतिशत रहने अनुमान गरिएको छ । गण्डकी प्रदेशको योगदान ९ प्रतिशत, सुदूरपश्चिमको ७ प्रतिशत र कर्णाली प्रदेशको ४.२ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान पनि सार्वजनिक गरेको छ । प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा उच्च ५.४ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेशमा ५.०१ प्रतिशत वृद्धिदर रहनेछ । यता मधेश प्रदेशमा सबैभन्दा कम १.३१ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रदेशगत आर्थिक संरचनाको विश्लेषण गर्दा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै रहेको देखिएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्र सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ । कोशी र मधेश प्रदेशमा व्यापार क्षेत्र दोस्रो स्थानमा रहेको छ भने गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको कार्यालयले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्र दोस्रो ठूलो हिस्सेदार रहेको उल्लेख गरिएको छ ।
आर्थिक गतिविधिको वृद्धिदरतर्फ विद्युत तथा ग्यास क्षेत्र सबैभन्दा तीव्र गतिमा विस्तार हुने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा यस क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च रहने कार्यालयले जनाएको छ । यता कर्णाली र सुदूरपश्चिम प्रदेशमा वित्तीय तथा बीमा सेवा क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै रहने अनुमान गरिएको छ ।
प्रतिव्यक्ति आयतर्फ पनि बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय २६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १६५१ अमेरिकी डलर, कोशी प्रदेशको १४१० अमेरिकी डलर तथा लुम्बिनी प्रदेशको १२०८ अमेरिकी डलर रहने अनुमान छ । मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय स्तरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ ।








प्रतिकृया