कांग्रेसले पूर्णबहादुर खड्कासँग माग्यो ७ दिने स्पष्टीकरण
प्रकाशित मिति
२०८३ बैशाख २ गते, बुधबार ०२:१६
नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग अनुशासन उल्लंघन गरेको आरोपमा ७ दिने स्पष्टीकरण मागेको छ। बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
अनुशासन समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत वक्तव्य जारी गरेका थिए। उनले यसअघि २०८२ चैत १४ गते पनि यस्तै प्रकृतिको वक्तव्य जारी गरेका थिए, जसबारे चैत १८ गते समितिले उनलाई एक पटकका लागि सचेत गराएको थियो।

तर, सचेत गराइएपछि पनि खड्काले पुनः चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गर्दै आफू पदमै रहेको दाबी सहित प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ। उक्त कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार अनुशासन उल्लंघन भएको निष्कर्ष निकालिएको छ।

समितिले खड्कालाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ।
यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा परेका उजुरीहरूको म्याद पनि थप गरेको छ। यसअघि चैत मसान्तसम्म रहेको उजुरी दिने म्याद अब बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याइएको छ। वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कारबाही अघि नबढाइने पनि स्पष्ट पारिएको छ।
कांग्रेसले निर्वाचनका क्रममा अनुशासन उल्लंघन, अन्तर्घात तथा अराजक गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन प्रक्रिया तीव्र बनाएको जनाएको छ।




प्रतिकृया